नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स विजयी भएका छन् । बिहीबार भएको पहिलो खेलमा बैंगलोरले पन्जाब किंग्सलाई २४ रनले र दिल्लीले कोलकत्ता नाईट राईडर्सलाई ४ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा बैंगलोरको यो तेस्री जित हो भने पन्जाबको तेस्रो हार । पन्जाबको घरेलु मैदान मोहालीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । बैंगलोरका लागि फाफ डु प्लेसिसले ८४ र विराट कोहलीले ५९ रनको अर्धशतकीय पारी खेले । पन्जाबका लागि हरप्रित ब्रारले २ विकेट लिए भने नेथन एलिस र अर्शदिप सिंहको भागमा समान १-१ विकेट रह्यो ।
१७५ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको पन्जाब १८ दशमलब २ ओभरमा अलआउट हुँदै १५० रन मात्र बनाउन सक्यो । पन्जाबका लागि प्रसिमरन सिंहले ४६ रन बनाए भने जितेश शर्माले ४१ रन जोडे । यस्तै हरप्रित सिंह र हरप्रित ब्रारले समान १३-१३ रन बनाए । बैंगलोरका लागि मोहम्मद सिराजले ४ विकेट लिए भने वानिन्दु हसरंगाले २ विकेट लिँदा हर्षल पटेल र वायन पार्नेलको भागमा समान १-१ विकेट रह्यो ।
जितसँगै बैंगलोर ६ खेलमा ६ अंक जोड्दै पाँचौ स्थानमा रहेको भने समान खेलमा ६ अंक जोडेको पन्जाब सातौं स्थानमा रहेको छ ।
त्यसैगरी आईपीएलक्रिकेटमा अन्तर्गत नै अर्को खेलमा दिल्ली क्यापिटल्सले पहिलो जित दर्ता गर्ने क्रममा कोलकत्ता नाईट राईडर्सलाई ४ विकेटले पराजित गरेको छ ।
जारी प्रतियोगितामा कोलकत्ताको भने यो तेस्रो हार हो । दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ता १९ दशमलव ५ बलमा अलआउट हुँदै १२७ रन मात्र बनायो । कोलकत्ताका लागि जेसन रोयले ४३ रन बनाए भने आन्द्रे रसल ३८ रनमा अविजित रहे ।
त्यस्तै मन्दिप सिंहले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । दिल्लीका लागि एनरिच नोर्किया, अक्षर पटेल, कुलदिप यादव र ईशान्त शर्माले समान २-२ विकेट लिए भने मुकेश कुमारको भागमा १ विकेट रह्यो । १२८ रनको सामन्य लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले १९ दशमलब २ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
दिल्लीका लागि ओपनर तथा कप्तान डेभिड वार्नरले ५७ रनको अर्धशतकीय पारी खेले भने मनिष पान्डेले २१ रन बनाए । यस्तै अक्षर पटेल १९ रनमा अविजित रहँदा पृथ्वी शाले १३ रन बनाउँदा ललित यादव ४ रनमा अविजित रहे । कोलकत्ताका लागि अनुकुल रोय, वरुण चक्रवर्ती र कप्तान नितिश राणाले समान २-२ विकेट लिए।
दिल्ली ६ खेलमा २ अंक सहित पुछारमा छ भने समान खेलमा ६ अंक जोडेको कोलकत्ता आठौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज खेल हुनेछ । आज चेन्नाई सुपर किंग्स र सनराईजर्स हैदराबाद भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार पौने आठ बजे सुरु हुनेछ ।