ओमानमाथि नेपालको सानदार जित

काठमाडौँमा जारी एसियन क्रिकेट काउन्सिल(एसिसी) प्रिमियर कपमा नेपालले पराजित गरेको छ । आज (शुक्रबार) नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो ।

किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनाएको हो ।नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो । नेपालका लागि अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १०८ रनको शतकीय पारी खेले भने सोमपाल कामी अविजित रहँदै ६३ रनको अर्धशतकीय पारी खेले ।



खराब सुरुवात गरेको नेपालको पारी कप्तान रोहित कुमार पौडेल र भिम सार्कीले तेस्रो विकेत्लो लागि ५४ रनको साझेदारी गरेका थिए । भिम ३३ रन बनाई आउट भए भने रोहितले २३ रन जोडे ।

यस्तै पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन जोड्दा करण केसीले २९ रनमा अविजित रहे । सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । ओमानका लागि आयान खानले २ विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहको भागमा समान १-१ विकेट रह्यो ।

३११ रनको लक्ष्य लिएर मैदान उत्रेको ओमान ४६.३ ओभरमा अलआउट हुँदै २ सय २६ रनमा समेटियो । ओमानका लागि मोहम्मद नदिमले सर्वाधिक ६५ रन बनाए सन्दिप गौडले ४६ रन बनाए । आयान खानले २९ र कश्यप प्रजापतिले २५ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए भने दिपेन्द्रसिंह ऐरी दुई र ललित राजवंशी एक विकेट लिए । सन् २०१८ को मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले ओमानविरुद्ध आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेल हो ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई र ओमानले कतारलाई हराएको थियो । अब नेपालले तेस्रो खेल साउदी अरेबियासंग मुलपानी मैदानमा वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग भिड्नेछ ।

एसिया कप छनोटको आधारका रूपमा रहेको प्रतियोगितामा १० राष्ट्रको सभागिता रहेको छ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते त्रिवि मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

सम्बन्धित समाचार