तुइनबाट खसेर ६५ वर्षमा ६४ ले गुमाए ज्यान

नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ । दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो ।

घरबाट भारतीय बजार धारचुला सामान किन्न जाने क्रममा तल्लो दुम्लिङस्थित महाकाली नदीमा तुइनबाट खसेर उहाँको मृत्यु भएको वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए । नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा बुढाथोकी मृत अवस्थामा भेटिएको उनले बताए ।



तुइनबाट खसेर मृत्यु भएको यो पहिलो घटना होइन। पछिल्ला ६५ वर्षमा दार्चुलाका मात्रै ६४ जना यसरी नै महाकालीमा बिलाएका छन् तर तीमध्ये तीन जनाको मात्रै शव भेटिएको छ । ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन् ।

२०१६ यता तुइनबाट महाकालीमा खसेकामध्ये व्यास गाउपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारी, व्यास गाउँपालिका–५ का दिलीपसिंह धामी र वीरसिंह धामीको शव मात्रै भेटिएको छ ।

सबैभन्दा बढी व्यास गाउँपालिका–२ का मात्रै २५ जना तुइनबाट खसेर बेपत्ता भएका छन्। व्यास–६ का आठ, व्यास–५ का १९, व्यास–३ का पाँच र व्यास–४ का तीन जना बेपत्ता छन् । दार्चुलाकै नौगाड गाउँपालिकाका एक, दोलखाको भीमेश्वर नगरपालिका–६ का एक, कैलाली लम्कीका एक र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

 

 

 

सम्बन्धित समाचार