नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ बैशाख ।
राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट वर्षाका कारण प्रभावित भएको । आज (सोमबार) हुने दुवै खेल वर्षाका कारण प्रभावित भएको हो ।
प्रतियोगिता अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा समूह ‘ए’ का नेपाल र साउदी अरेबिया तथा किर्तीपुरस्थित त्रिवि मैदानमा समूह ‘बी’ का हङकङ र बहराईनबीच खेल हुने तालिका रहेको थियो ।
खराब मौसमका कारण दुवै खेलमा टससमेत हुन सकेको छैन । मूलपानी क्रिकेट मैदानमा बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । त्यस्तै बिहान ९ बजेदेखि सुरु हुनुपर्ने खेल मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण सुरुआत हुन सकेको छैन ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पनि खेल पानीका कारण सुरु हुन सकेको छैन । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई र दोस्रो खेलमा ओमानले हराएको थियो । आज तेस्रो खेल साउदी अरेबियासँग खेल्न लागेको नेपालले अन्तिम खेल वैशाख १४ गते कतारसँग खेल्नेछ ।
एसिया कप छनोटको आधारका रूपमा रहेको प्रतियोगितामा १० राष्ट्रको सभागिता रहेको छ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते त्रिवि मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।