जब लेखकले देउवालाई राेके…

प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिएका थिए । सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गरे ।

रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा आसन स्थानबाट उठेर बाहिर निस्कन लागे । सत्ता पक्षको आसनको पहिलो पङ्क्तिमै बस्नुभएका देउवा उठेर बाहिर निस्कन लागेपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रोक्नुभयो अनि सभापति देउवा फर्केर आएर पुनः आसनमा बसे ।



प्रमुख सचेतक लेखकले सभापतिलाई बीचमै किन फर्काउनुभयो ? धेरै जानकारी नहुन सक्छ तर संसदीय अभ्यास र मान्यतामा भने यसको आफ्नो महत्व छ । सभाको नियमनसम्बन्धी कानुनको पालना थियो त्यो । देउवाको कार्य प्रतिनिधि सभा नियमावलीको विपरीत हुने भएपछि तुरुन्तै लेखकले उक्त अग्रसरता देखाए । प्रतिनिधि सभा नियमावलीको नियम २० मा सदस्यहरूले बैठकमा पालना गर्नुपर्ने नियमबारे उल्लेख छ । जसमा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने उल्लेख छ ।

यसअघि प्रतिनिधि सभामै एमाले सचेतक महेश बर्तौलाको ध्यानाकर्षणमा कांग्रेस सांसद पूर्णबहादुर खड्काले यस्तै प्रकरणमा माफी माग्नुभएको थियो । चैत १२ गतेको बैठकमा एमालेका बलराम अधिकारी बोलिरहनुभएको बेला खड्का बीचबाट हिँडेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

 

 

सम्बन्धित समाचार