एसिसी प्रिमियर कप : नेपाल र कतार भिड्दै

समूह विजेता बन्ने योजनामा नेपाल

एसिसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र कतार भिड्दै छ  । आज (बिहीबार)  समूह ‘ए’ अन्तर्गतको लिग चरणको अन्तिम खेलमा नेपाल र कतार भिड्न लागेका हुन् ।

आजको खेलले यस समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । किर्तीपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ  । यस समूहबाट नेपाल र ओमान सेमिफाइनल पुगिसकेका छन् ।  नेपाल समूह विजेता बन्ने योजानाका साथ मैदान उत्रदैछ । नेपाललाई समूह विजेता बन्न आज हुने अन्तिम खेलमा जित आवश्यक पर्दछ ।



नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ लिगको दोस्रो स्थनमा छ भने ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ ।

१० राष्ट्र सहभागी प्रतियोगितामा पाँच पाँच राष्ट्रको दुई समूह रहेको छ । हरेक समहका दुई राष्ट्रले शनिबार हुने सेमिफाइनल खेल्नेछन् । समूह ‘ए’ को विजेता र समूह ‘बी’ का उपविजेता तथा समूह बी को विजेता तथा समूह ए को उपविजेता बीच सेमिफाइनल खेल हुनेछ ।

दुई सेमिफाइनलका विजेताबीच सोमबार फाइनल खेल रहेको छ । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

सम्बन्धित समाचार