नेपालद्वारा कुवेत सामू जितको लागि २८१ रनको लक्ष्य 

राजधानीमा जारी एसिसी प्रिमियर क्रिकेटमा नेपालले कुवेत सामू जितको लागि २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  वर्षाको कारण नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४२ ओभरमा छोट्याईएको थियो ।  डकवर्थ लेविसको आधारमा कुवेतले २८१ रनकै लक्ष्य पाएको छ ।

टियु मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको हो । नेपालको लागि कप्तान रोहित कुमार पौडेल र कुशल मल्लले अर्धशतकीय पारी खेल्दै क्रमश: ९४ र ५७ रन बनाए ।



यी दुईले चौथो विकेटका लागि १०९ रनको सानदार साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलमा पुगेको हो । त्यस्तै कुशल भुर्तेल ४३ रन बनाई आउट भए भने आसिफ शेखले ३१ रन जोडे । यी दुईले पहिलो विकेटको लागि ७७ रनको साझेदारी गरेका थिए । यस्तै सोमपाल कामीले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १३ रन बनाए ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३-३ विकेट लिए भने सयद मोनिव र यासिन पटेलको भागमा समान १-१ विकेट रह्यो ।

सम्बन्धित समाचार