नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा गुजरात टाईटन्स विजयी भएको छ । शनिबार भएको पहिलो खेलमा गुजरातले कोलकत्ता नाईट राईडर्सलाई ७ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा गुजरातको यो छैटौ जित हो भने कोलकत्ताको पाँचौं हार । कोलकत्ताको घरेलु मैदान ईडन ग्राडेनमा शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।
कोलकत्ताको लागि रहमनउल्लाह गुर्बाजले ८१ रनको अर्धशतकीय पारी खेले भने आन्द्रे रसेलले ३४ रन बनाए । त्यस्तै नारायण जगदिशन र रिंकु सिंहले समान १९-१९ रन बनाई आउट भए भने वेंकटेस अय्यरले ११ रन जोडे ।गुजरातका लागि मोहम्मद सामीले ३ विकेट लिए भने जोसवा लिटिल र नूर अहमदको भागमा समान २-२ विकेट रह्यो ।
१८० रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १७ दशमलब ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातका लागि विजय शंकरले अविजित रहँदै ५१ रनको अर्धशतकीय पारी खेले भने शुभमन गिलले ४९ रन बनाए । यस्तै डेबिड मिलर ३२ रनमा अविजित रहँदा कप्तान हार्दिक पान्ड्याले २६ रन जोडे । कोलकत्ताका लागि हर्षित राणा, सुनिल नारेन र आन्द्रे रसेलले समान १-१ विकेट लिए ।
लगातार छैटौ जितसहित गुजरात ८ खेलमा ६ जित र २ हारका साथ १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा ३ जित र ५ हारका साथ ६ अंक जोडेको कोलकत्ता सातौं स्थानमा रहेको छ ।