नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा सनराईजर्स हैदराबाद विजयी भएको छ । शनिबार राति भएको खेलमा हैदरबदले दिल्ली क्यापिटल्सलाई ९ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा यो हैदराबादको तेस्रो जित हो भने दिल्लीको छैटौ हार । दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । हैदराबादका लागि अभिषेक शर्माले ६७ र हेनरिक क्लेसनले ५३ रनको अर्धशतकीय पारी खेले अब्दुल समादले २८ रन बनाउँदा अकिल होसेनले १६ रनमा अविजित रहे ।
दिल्लीका लागि मिचेल मार्शले ४ विकेट लिए भने इशान्त शर्मा र अक्षर पटेलको भागमा समान १-१ विकेट रह्यो ।१९८ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि मिचेल मार्शले ६३ र फिलिप साल्टले ५९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै अक्षर पटेलले २९ रनमा अविजित रहँदा प्रियम गर्गले १२ रन जोडे । हैदराबादका लागि मयक मार्कन्डेले २ विकेट लिए भने भुवनेश्वर कुमार, टि नटराजन, अमिल हुसेन र अकिल हुसेनको भागमा समान १-१ विकेट रह्यो ।
तेस्रो जित निकालेको हैदराबाद ८ खेलमा ३ जित र पाँच हारसहित ६ अंक जोड्दै लिगको आठौं स्थानमा उक्लिएको छ भने समान खेलमा २ जित र ६ हार व्यहोरेको दिल्ली पुछारमा रहेको छ ।