अनाम शर्मा
काठमाडौं, २० बैशाख ।
सहिष्णुता अर्थात् सहनशीलता मानिसका राम्रा गुणहरूमध्येको पनि विशेष गुण मानिन्छ तर कहिलेकाहीँ यही सहिष्णुता अभिशाप बनिदिन्छ । नेपाली जनताका हकमा सहिष्णुता अभिशापजस्तै बनेको छ । नेपाली जनताको अपार सहनशीलता वा सहिष्णुतालाई नेताहरूले कमजोरी ठानिदिँदा र जनादेशविपरीत काम गरिदिँदा नेपाली जनताको सहनशीलताको परिभाषा नै बदलिने अवस्थामा पुगेको छ । सहिष्णुताको पर्खाल नाघेर नेपाली जनताले पनि श्रीलङ्काली जनताको सिको गर्दै सिंहदरबार र शीतल निवास घेर्ने साहस गर्ने हो भने या त ढोँगी नेताको भागाभाग हुनेछ या त उनीहरू सच्चिन बाध्य हुनेछन् । सच्चिनुचाहिँ सबैभन्दा राम्रो पक्ष हो तर ढुङ्ग्रामा राखेर कुकुरको पुच्छर सिधा हुनु र नेपाली नेताहरू सच्चिनु सायद उस्तै उस्तै कुरा होलान् ।
एकजना फेसबुके मित्रले आफ्नो फेसबुक वालमा लेखेका थिए– ‘नेताहरूले नेपाली जनतालाई मूर्ख नठाने हुन्छ ।’ यस भनाइको अन्तर्य सकारात्मक भए पनि मलाई चाहिँ के लाग्छ भने– वास्तवमा हामी अर्थात् नेपाली जनता मूर्ख नै हौं । पटक पटक प्रधानमन्त्री, मन्त्री भइसकेका तथा पुराना नेताहरूको यति धेरै नौटङ्की देखेर पनि उनीहरूको अर्थहीन गफलाई पत्याएर उनीहरूलाई नै फेरि पनि सत्तामा पुर्याउने हामी मूर्ख नभएर के हौं त ? भ्रष्टहरूसँगको अपवित्र साँठगाँठ तथा सुशासनका नाममा नेपाली जनतालाई पटक पटक भ्रममा राखेर आफ्नो स्वार्थको झोला भरेको देखेर पनि फेरि उनैलाई चुनावमा जिताउने हामी मूर्ख होइनौं र ? भ्रष्टलाई सत्तामा पुर्याएपछि भ्रष्टाचार र बेथिति त हुने नै भयो नि !
आफू सत्तामा पुगेका बेला माखो मार्न नसक्ने तर सत्ताबाहिर हुने वित्तिकै देश विकास र समृद्धिका ठूला ठूला कुरा गरिरहँदा पनि पत्याइदिएर उनीहरूकै जयगान गर्ने, उनीहरूका अगाडि नतमस्तक हुने हामीहरू पटमूर्ख नै हौं । तीन, चार, पाँच पटकसम्म मुलुकको प्रधानमन्त्री हुँदासमेत केही गर्न नसक्ने सिनोलाई अझै काँधमा बोकेर हिँड्ने हामी पटमूर्ख नभएर के हौं त ?
सिद्धान्तका कुरा गर्ने हो भने नेपालमा जस्तो सिद्धान्तहीन नेता विश्वमा अन्त सायदै भेटिएलान् । काङ्ग्रेस, कम्युनिष्ट वा माओवादी भन्नु देउवा, ओली र दाहाल भन्नुभन्दा फरक केही देखिएन । राज्यसत्तालाई दोहन गर्ने कुरामा र विलासी जीवन जिउने कुरामा नेपालका नेताहरू कुनै निरङ्कुश शासकभन्दा कम देखिएनन् । यिनीहरूले लोकतन्त्र कालको यो छोटो अवधिमा राज्यसत्ता दोहन गरेर कमाएको सम्पत्तिको तुलनामा त २५० वर्षको इतिहास बोकेका राजाहरू बरू निरीह देखिए । यी नवधनाड्य नेताहरूको सम्पत्तिको स्रोतको अनुसन्धान हुनुपर्छ कि पर्दैन ? कार्यकर्ताले नेतृत्वलाई प्रश्न गर्नु पर्छ कि पर्दैन ? हजार र लाख घुस खाएको अनुसन्धान गर्ने अख्तियारले भ्रष्टाचार गरेर करोडौं र अरबौं सम्पत्ति कुम्ल्याउनेहरूको अनुसन्धान गर्नुपर्छ कि पर्दैन ?
ठूला ठूला भ्रष्टाचारका काण्डहरू शीर्ष नेताहरूको संरक्षणमा नै हुने गरेको जग जाहेर छ । उदाहरणका लागि पछिल्लो घटनाका रूपमा गैर भुटानीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा ठूला बडाको नाम जोडिनुले पुष्टि गर्दछ । यस घटनामा लहरो तान्दा पहरो गर्जिन सक्छ । त्यसैले पनि यस काण्डमा केही निमुखाहरूलाई कारर्वाही गरेको देखाएर निर्मला हत्या प्रकरणमा जस्तै ठूला बडालाई उन्मुक्ति दिइनसक्छ । फेरि पनि हामी हाम्रो परम्परागत स्वभावअनुसार भित्रभित्रै आन्दोलित हुनेछौं, फेसबुकको वालबाट तीतो पोख्नेछौं, चिया चौतारीमा व्यङ्ग्य गर्नेछौं र अन्ततः शान्त हुनेछौं ।
हाम्रो यही सहनशीलतामा टेकेर नेताहरूले हामीलाई पटक पटक बेवकुफ बनाउँदै आएका छन् । हामी ‘यी नेताहरूबाट अब केही हुनेवाला छैन’ भन्ने निष्कर्ष पनि निकाल्छौं तर फेरि चुनावमा यिनैलाई आफ्नो अमूल्य मत दिएर पुनः अर्को कार्यकालका लागि जिताउँछौं । न हामी मत बदल्ने आँट गर्न सक्छौं, न नेताले जनताको अवस्था बदल्ने कार्य गर्न सक्छन् तर पनि वर्षौंदेखि यो सिलसिला निरन्तर चलिरहेछ । झुक्किएर आएका केही नयाँलाई पनि हामी ‘एजेण्डाविहीन’ भएको आरोप लगाएर हतोत्साहित गर्ने प्रयत्न गर्छौं तर ‘एजेण्डा भएकाहरू’ले चाहिँ के के उल्लेखनीय काम गरे भनेर कहिल्यै प्रश्न उठाउँदैनौं । नेतृत्व रिसाउला कि भन्ने भयले प्रश्न गर्न नसक्ने हाम्रो दास मनोवृत्ति नै भ्रष्टाचार, अराजकता र बेथितिको मूल कारण हो भनेर हामीले कहिले स्वीकार गर्ने होला ?