नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा मुम्बई इन्डियन्स विजयी भएको छ । बुधबार राति भएको खेलमा मुम्बईले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा मुम्बईको यो पाँचौं जित हो भने पन्जाबको पाँचौं हार । पन्जाबको घरेलु मैदान बिन्द्रा स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । पन्जाबका लागि लियम लिविङ्स्टोनले ८२ रनको अर्धशतकीय पारी खेले भने जितेश शर्माले ४९ रन बनाए ।
त्यस्तै कप्तान शिखर धवन ३० र माथ्यु शर्टले २७ रन जोडे । मुम्बईका लागि पीयुष चावलाले २ विकेट लिँदा अर्शद खानको भागमा १ विकेट रह्यो । २१५ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले १८ दशमलब ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
मुम्बईको लागि इशान किशनले ७५ र सुर्यकुमार यादव ६६ रनको अर्धशतकीय पारी खेले । यी दुईले तेस्रो विकेटका लागि ११६ रनको शतकीय साझेदारी गरेका थिए । यस्तै क्यामरुन ग्रीनले २३ रन बनाए । पन्जाबका लागि नाथन एलिसले २ विकेट लिँदा ऋषि धवन र अर्शदिप सिंहको भागमा समान १-१ विकेट रह्यो ।
पाँचौं जितसहित मुम्बई ९ खेलमा ५ जित र ४ हारका साथ १० अंक जोड्दै छैटौं स्थानमा छ भने १० खेलमा ५ जित र ५ हार सहित १० अंक जोडेको पन्जाब तालिकाको सातौं स्थानमा रहेको छ ।