आईपीएलमा गुजरातद्वारा राजस्थान पराजित  

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपीएल) मा गुजरात टाइटन्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा गुजरातले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गर्दै प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

जारी प्रतियोगितामा गुजरातको यो सातौं जित हो भने राजस्थानको पाँचौ हार । राजस्थानको घरेलु मैदान जयपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थान १७ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमा समेटियो । राजस्थानका लागि कप्तान सन्जु सामसनलले ३० रन बनाए भने ट्रेन्ट बोल्टले १५ रन जोड्दा यशस्वी जैसवालले १४ र देवदत्त पाडिक्कल १२ बनाउँनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



गुजरातका लागि राशिद खानले ३ विकेट लिए भने नुर अहमदले २ विकेट लिँदा मोहम्मद शामी, हार्दिक पान्ड्या र जोशुवा लिटिलको भागमा समान १-१ विकेट रह्यो । ११९ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १३ दशमलब ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

गुजरातको लागि ओपनर ऋद्धिमान शाह र कप्तान हार्दिक पान्ड्य अविजित रहँदै क्रमश:  ४१ र ३९ रन बनाए भने शुभमन गिलले ३६ रन जोडे । राजस्थानका लागि युजभेन्द्र चहलले १ विकेट लिए । जितसँगै गुजरात १० खेलमा ७ जित र ३ हारसहित १४ अंक जोड्दै लिगको शीर्ष स्थानमा कायमै छ भने समान खेलमा ५ जित र ५ हारसहित १० अंक जोडेको राजस्थान चौथो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार