नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा चेन्नाई सुपर किंग्स विजयी भएको छ । शनिबार भएको पहिको खेलमा चेन्नाईले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा चेन्नाईको यो छैटौं जित हो भने मुम्बईको पाँचौं हार । चेन्नाईको घरेलु मैदान एमए चितम्बरममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । मुम्बईका लागि निहाल वाधिराले ६४ रनको अर्धशतकीय पारी खेले भने सुर्यकुमार यादवले २६ र ट्रिस्टन स्टुब्सले २० रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
चेन्नाईका लागि मथिशा पथिरानाले ३ विकेट लिए भने दीपक चहर र तुसारदेश पान्डेको भागमा समान २-२ विकेट रह्यो । १४० रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नाईले १७ दशमलब ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
चेन्नाईको लागि डेभोन कन्वेले ४५ रन बनाए भने ऋतुराज गायकवाडले ३० रन जोडे । यस्तै शिभम दुवे २६ रनमा अविजित रहँदा अजिक्या रहाणेले २० रन बनाए । मुम्बईका लागि पीयुष चावलाले २ विकेट लिए भने आकाश मधवाल र ट्रिस्टन स्टुब्सको भागमा समान १-१ विकेट रह्यो ।
छैटौं जित हात पारेको चेन्नाई ११ खेलमा ६ जित र ४ हार सहित १३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने १० खेलमा ५ जित तथा ५ हार सहित १० अंक जोडेको मुम्बई छैटौं स्थानमा रहेको छ ।