त्रिचन्द्रका प्राध्यापक अधिकारीमाथि भएको दुर्व्यवहारप्रति प्राध्यपक संघद्वारा भत्सर्ना

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, केन्द्रीय समितिले वैशाख २४ गते आइतबार एक विज्ञप्ति प्रकाशित गरी गत वैशाख १५ गते त्रिचन्द्र बहुमुखी क्याम्पसका वातावरण विभागका प्रमुख प्राडा दण्डपाणि अधिकारीमाथि भएको अशोभनीय, अमर्यादित र अवाञ्छित घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका केन्द्रीय सभापति प्राडा वसन्त ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ– क्याम्पसमा देखिएका समस्याहरु वार्ता तथा छलफलको माध्यमबाट समाधान हुनुपर्नेमा आप्mना मागहरु पूरा गराउन अवाञ्छित गतिविधिमा उत्रिनु अमर्यादित क्रियाकलापबाहेक केही हुन सक्दैन । पछिल्लो समयमा यस्ता अमानवीय घटनाहरु निरन्तर रूपमा दिनहुँजसो घटिरहनुले क्याम्पसहरूका शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक वातावरण बिग्रदै गइरहेको देखाउँछ ।



यस्ता घटनाहरुका कारण शैक्षिक, प्रशासनिक तथा अनुसन्धानात्मक गतिविधिहरु निर्भयका साथ सञ्चालन गर्न क्याम्पसहरु असमर्थ हुँदै जाने वातावरणको विकास गर्दछ । शैक्षिक संस्थाहरु विशुद्ध ज्ञान आर्जन गर्ने थलो हो भन्ने सर्वमान्य विश्वब्यापी सिद्धान्तलाई धज्जी उडाउने गरी जो कोहीबाट पनि हुने यस्ता अवाञ्छित गतिविधिहरुप्रति त्रिवि प्राध्यापक संघ प्रष्ट रूपमा घोर भत्सर्ना गर्दछ ।

उक्त घटनाका दोषीहरु उपर कानुनी कारवाहीका लागि सम्वन्धित पक्ष समक्ष यस संघ जोडदार माग गर्दछ । साथै यस्ता घटनाहरुप्रति बेलैमा सजग रहन र आम प्राध्यापकहरुको सुरक्षाप्रति संवेदनशील रहन क्याम्पस प्रशासन लगायत त्रिवि प्रशासन समक्ष यस संघ विशेष ध्यानाकर्षण गराउँदछ ।

सम्बन्धित समाचार