नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसँगको सम्बन्ध खोज्दै प्रहरी

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाँणको आर्थिक कारोबार भए-नभएको पक्षमा प्रहरी अनुसन्धान केन्द्रित भएको स्रोतले बतायो ।

‘अडियो सार्वजनिक भएपछि प्रहरीले त्यसमा अनुसन्धान गर्छ नै तर बालकृष्ण खाँण र यसमा जोडिएको आरोप लागेकी कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच आर्थिक कारोबार भएनभएको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ, त्यसमा खाँणपत्नी मन्जुको नाम पनि जोडिएको छ । अडियोमा एकसाथ दुवैजनाको नाम जोडिएकाले अनुसन्धानको दायरामा आउने अवस्था छ,’ प्रहरी स्रोतले भन्यो ।



सो अडियोमा आफूलाई अनाहकमा मुछ्ने काम भएको दाबी आरजु राणाले गरेकी छन् । बिरामी भएर जापानमा उपचार गराइरहेको अवस्थामा आफूमाथि आरोप लगाइएको दाबी उनको छ । त्यस सन्दर्भमा आरजुले बुधबार नै प्रहरीको साइबर ब्युरोमा छानबिनका लागि उजुरीसमेत दिइसकेकी छन् । प्रहरीले भने यी सबै पक्षमा अनुसन्धान गर्ने भएको छ ।

प्रहरीले पक्राउ गरेका गिरोहका सदस्यले आफ्नो बयानमा एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मन्जु खाण तथा आरजु राणाको समेत नाम लिएपछि प्रहरीले उनीहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै बुधबार पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

 

सम्बन्धित समाचार