नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हदम्याद’भित्र अनुसन्धान भ्याउन कठिन

एकातिर दिनहुँ नयाँनयाँ तथ्य भेटिइरहँदा थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने छ भने अर्कातिर ‘६० दिने’हदम्याद सकिने दिन नजिक आइरहेको छ । संगठित अपराध निवारण ऐन, २०७० अनुसार पक्राउ परेका व्यक्तिलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ ।

ऐनअनुसार हदम्याद सन्निकटमा आइसकेको छ । हदम्याद गुज्रिने दिन नजिकिँदै आउँदा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट अनुसन्धान सकाएर प्रतिवेदन बुझाउन प्रहरीलाई निरन्तर दबाब आइरहेको छ ।



नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको छ । आवश्यकताअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं जिल्लामा रहेका प्रहरी वृत्तहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रहरी प्रधान कार्यालय नक्सालले पनि काठमाडौं प्रहरी परिसरलाई अनुसन्धानमा सघाइरहेका छन् ।

ठुलो टिम संलग्न हुँदा पनि समय व्यवस्थापन गरेर अनुसन्धानका सम्पूर्ण पाटालाई किनारामा पुर्याउन प्रहरीलाई हम्मेहम्मे परिरहेको छ । ‘आज (बिहीबार) ५५औं दिन पुगिसक्यो । सरकारी वकिल कार्यालयबाट छिटो प्रतिवेदन बुझाउन दबाब आइरहेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले भने, ‘यता हाम्रो अनुसन्धानमा नयाँनयाँ सूचना फेला परिरहेका छन् । सूचनाको तथ्य जाँच र आरोपितसमक्ष पुग्न समय अभाव देखिएको छ ।’

जिल्ला सरकारी वकिल कार्यालयले यसअघि प्रहरीलाई मंगलबारसम्म अनुसन्धान भ्याएर बुधबार प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । जुन निर्देशनको समयसीमा घर्किसकेको छ। समय घर्किएपछि सरकारी वकिल कार्यालयले परिस्थितिको गाम्भीर्यलाई हेरेर शुक्रबारसम्म समय थपिदिएर अनुसन्धान गर्न प्रहरीलाई सहज गरिदिएको छ ।

हाम्रो अपेक्षा भोलि (शुक्रबार) सम्म प्रहरीको अनुसन्धान प्रतिवेदन आइदेओस् भन्ने छ । किनभने यो प्रकरण निकै गहिरो भएकाले हामीलाई पनि अध्ययन गरेर अभियोजन गर्न समय लाग्छ,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने, ‘खै उहाँ (प्रहरी) हरूलाई पनि निकै प्रेसर छ । मान्छे पक्राउ परेको पर्यै छन्। नयाँनयाँ विषय भेटिएका छन् ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार