पत्रपत्रिका
काठमाडौं, ६ जेठ ।
राष्ट्रपतिको सवारीका कारण जनताले सास्ती भोग्दै आएको खबर नौलो होइन । तर पछिल्लो समय सवारीका सुखद तस्बिर देखापर्न थालेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन जाने क्रममा सडकमा सर्वसाधारण जनतालाई यात्रामा रोक लगाइएन । राष्ट्रपतिसँगै जनताका सवारीसाधन पनि चले। यसले धेरैको मन जितेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल शीतलनिवासबाट नयाँ बानेश्वस्थित संसद् भवनमा पुगेका थिए । यसअघिका राष्ट्रपतिका सवारीभन्दा शुक्रबार पौडेलको सवारी निकै सहज र चुस्त देखियो । ‘पहिलोपटक राष्ट्रपति जनतासँगै अनि जनता राष्ट्रपतिसँगै हिँडेको देखियो,’ सामाजिक सञ्जालमा राजेश फुयाँल लेख्छन्, ‘यो सवारीले राष्ट्रप्रमुखलाई जनतासँग जोड्ने काम गरेको छ ।’ जनतालाई रोकेर होइन, सँगै लिएर जाँदा सही गन्तव्यमा पुगिने पनि उनले लेखेका छन् ।
गणतन्त्रका ‘सेरेमोनियल’ राष्ट्रपतिको सवारीका समयमा कम्तीमा सडकमा लामो समय रोकिन नपरोस् भन्ने अपेक्षा सर्वसाधारण जनताको थियो, छ । आजको नागरिक दैनिकमा समाचार छ ।