नेपाली काङ्ग्रेसका गगन र विश्वप्रकाश : कागजका घोडा

नेपालका प्रमुख राजनीतिक पार्टीका नेतृत्वहरूमा आफू चितामा नपुगुञ्जेलसम्म राजनीतिको पावरमा र नेतृत्वमा बसिरहने तथा आफू बाँचुञ्जेल नेतृत्वको निर्विकल्प बन्ने सोच हावी भएको देखिन्छ । नेपाली काङ्ग्रेस पार्टी पनि यस परम्पराबाट अछुतो देखिँदैन । काङ्ग्रेसमा यस परम्पराको विरुद्धमा विद्रोह गरेर नयाँ पुस्ताहरू मैदानमा उत्रिन सके पार्टी नयाँ शिराबाट अगाडि बढ्न सक्थ्यो होला र किञ्चित रूपमा भए पनि रचनात्मक बन्न सक्थ्यो होला भन्ने आशा गरिएको थियो तर केही युवाहरू जिम्मेवार पदमा पुगे पनि त्यस्तो परिवर्तनको प्रत्याभूति हुन सकेन । बरू उल्टै पार्टीभित्र अराजकता, भ्रष्टाचार, बेथिति र विसङ्गति मौलाउँदै गयो । नेतृत्व बेलगाम घोडाजस्तै बन्यो । पार्टी समयसापेक्ष ढङ्गबाट गतिशील हुनुपर्नेमा उल्टो पार्टीको ऐतिहासिक गरिमा क्षय हुँदै गयो । पार्टी यस अवस्थामा पुग्नुमा सबैको धेरथोर भूमिका भए पनि पदलोलुप तर गतिहीन बूढा नेताहरू नै बढी जिम्मेवार देखिन्छन् ।

शारीरिक र मानसिक रूपमा असक्त तथा परम्परागत ढर्राबाट बाहिर निस्कन नसकेका केही व्यक्तिबाट घेरिएको गतिहीन काङ्ग्रेस पार्टीलाई युवा पुस्ताले नवजीवन र नयाँ गति प्रदान गर्ने कुरामा धेरै शुभचिन्तकहरू ढुक्क थिए । युवा पुस्तामा पनि विशेष गरी गगन थापा र विश्वप्रकाश शर्माबाट पार्टीमा देखिएका विकृति र विसङ्गतिलाई सच्याउँदै पार्टीलाई शुद्धीकरण गर्ने कार्यमा खास पहल होला भन्ने कुरामा काङ्ग्रेसका कार्यकर्ता मात्र होइन, मतदाता र शुभचिन्तकहरू पनि आशावादी थिए । तर महाधिवेशन भएको डेढ वर्ष बित्न लाग्दासमेत महामन्त्रीद्वयबाट आशा गरिएअनुसार केही हुन नसक्नु र अन्ततः उनीहरूले पनि बूढा नेताकै दौराको फेर समातेर ताते गर्दै समय बिताउनुले जुन जोगी आए पनि कानै चिरिएको भन्ने भनाइ चरितार्थ भएको छ । उनीहरू कागजका घोडा सावित भएका छन् ।



नेपाल विद्यार्थी संघबाट गगन थापा र विश्वप्रकाश शर्मा नेपाली काङ्ग्रेसको राजनीतिमा प्रवेश गर्दैगर्दा नेपाली राजनीति नै तरङ्गित बनेको थियो । उनीहरू युवा भएर मात्र होइन, कुशल वक्ता र सङ्घर्षशील छवि भएका कारण पनि काङ्ग्रेस पार्टीमा उनीहरूको उपस्थितिले पक्कै पनि नयाँपन ल्याउँछ भन्ने कुरामा धेरैको विश्वास रहेको थियो । कुनै बेला उनीहरूको जोसिलो र दमदार भाषण सुन्न ठूलै भीड जम्मा हुने गथ्र्याे । नेपाली काङ्ग्रेसका कार्यकर्ता मात्र होइन, अन्य दलमा विश्वास राख्नेहरू पनि थापा र शर्माको भाषणबाट प्रभावित हुन्थे र आफूलाई भित्रभित्रै थापा र शर्माजस्तो बनाउने प्रण पनि गर्थे भनिन्छ । त्यसैले काङ्ग्रेसका अन्य नेताको धुँवाधार विरोध हुँदासमेत गगन र विश्वप्रकाशको प्रशंसा हुन्थ्यो । तर त्यो सबै एकादेशको कथा सावित भयो ।

काङ्ग्रेसका यी दुई युवा नेतामा अहिले कुनै दम बाँकी छैन । उनीहरूको भाषणमा अब त्यस्तो आकर्षण बाँकी रहेन । विचार र कार्यशैलीमा नयाँपन नदेखिएपछि तथा बूढाहरूले जेजे भन्छन् वा गर्दछन्, त्यसैमा सहीछाप लगाउँदै हिँडेपछि उमेरमा ८/१० वर्ष कान्छो हुँदैमा उनीहरूलाई युवा भन्न सकिने स्थिति रहेन । युवा शब्द उमेरको जोडघटाउ मात्र होइन, युवा शब्द त युग रूपान्तरणको प्रतीक हो । फेसबुक र ट्वीटरको खपतका लागि बोलिएका कुराले मात्र तात्विक असर पार्दैन ।

२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा लोकप्रिय मतबाट गगन र विश्वप्रकाश नेपाली काङ्ग्रेसको महामन्त्री पदमा निर्वाचित भए । उनीहरूबाट धेरैले धेरै आशा राखे । तर उनीहरूबाट आशालाग्दो काम केही हुन नसकेपछि काङ्ग्रेसजन निराश बनेका छन् । कहिले नेतृत्वको नजिक हुन खोज्ने र कहिले विद्रोहको भाषा बोल्ने उनीहरूको द्वैध चरित्रबाट नेतृत्व पनि सशंकित रह्यो भने कार्यकर्ताहरूको ठूलो पङ्तिले पनि उनीहरूलाई हिजोका दिनहरूजस्तो विश्वास गर्न सकिरहेको छैन । यसरी आफ्नै भूमिकाका कारण महामन्त्रीद्वयको क्रेज क्रमशः घट्तै गएको अनुमान लगाउन गाह्रो छैन ।

पार्टीमा सभापतिपछिको शक्तिशाली पद हो महामन्त्रीको । विधानले नै महामन्त्रीका खास जिम्मेवारीहरू तोकेको छ । तोकिएको काम, कर्तव्य र अधिकारलाई प्रयोग गर्न समेत महामन्त्रीद्वय असफल भएको जस्तो देखियो । उनीहरूसँगै सम्भावना बोकेका भनिएका धनराज गुरूङ र प्रदीप पौडेलहरूजस्ता युवाहरू पनि ओझेलमा पर्दै जाँदा आरोप शिरोमणि काङ्ग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र हावी बन्दै गए । केन्द्रीय समितिमा देउवाको पल्ला भारी भएका कारणले पनि उनी भ्रष्टाचारको दलदलमा जति भासिए पनि देउवालाई निर्विकल्प देख्ने स्वार्थी समूहले उनलाई बचाइराख्ने निश्चित छ । सधैं देउवाकै मनपरी चल्ने भएपछि काङ्ग्रेसमा सभापतिबाहेक अन्य पदाधिकारीको पद नै हटाए हुने स्थिति भयो । न रहेगा बाँस, न बजेगा बाँसुरी !

लेखक तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल भन्छन् ‘लोकप्रिय हुन खोज्ने महामन्त्रीद्वयको लोकप्रियता हजारबाट सयमा झरेको छ ।’ हुन पनि चितवन र तनहुँमा भएको उपनिर्वाचनमा महामन्त्रीद्वयको खस्कँदो क्रेज सतहमै देखिएको हो । अझै पनि थापा र शर्माले आफूलाई नसच्याउने हो भने नेपाली काङ्ग्रेस पार्टीप्रति नै कार्यकर्ता र शुभेच्छुकहरूको वितृष्णा बढ्दै जानेछ भने पार्टी सभापतिको स्वच्छाचारिताले पराकाष्ठ नाघ्ने छ । पार्टी धुलीसात भएपछि आएको चेतना लगनपछिको पोतेजस्तै हुनेछ ।

 

सम्बन्धित समाचार