पत्रपत्रिका
काठमाडौं, १८ जेठ ।
नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्ने गर्दछ ।
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य पदार्थको सेवन गर्दा मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र श्रवणशक्ति कमजोर हुने जस्ता स्वास्थ्य समस्या देखा पर्ने बताए । उनले अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउने बताए । उनले परिवारमा एक जनाले सुर्ती सेवन गरेको छ भने परिवारका अन्य सदस्यलाई त्यसको असर हुने बताए ।
नेपालले सन् २००३ मा सुर्तीजन्य पदार्थ रोकथामको अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको थियो । सन् २००६ मा नेपालले उक्त महासन्धि अनुमोदन गरेको जानकारी दिँदै त्यसकै आधारमा सन् २०११ मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा निर्देशिका जारी भएको थियो ।
स्वास्थ्य सूचना केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भक्तबहादुर केसीले सरकारले अनुमोदन गरेको नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ ले नेपालमा सन् २०२५ सम्ममा १५ वर्षमाथिका मानिसमा व्याप्त रहेको सुर्तीजन्य पदार्थको प्रयोगमा ३० प्रतिशतले कमी ल्याउन आह्वान गरेको जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा गरिएको नसर्ने रोगको सर्वेक्षण अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ । धूमपान नगर्ने तर अन्य व्यक्तिले गरेको धूमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०२२ को तथ्याङ्कअनुसार विश्वमा २२.३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको प्रयोग गर्दछन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।