नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ जेठ ।
मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको छ । बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई २७ रनले पराजित गरेको हो ।
मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११० रनको बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् भने सीता रानामगरले २४ रन जोडिन् ।
त्यस्तै ज्योति पाण्डेले २३ रन बनाउँदा ईन्दु बर्माले २० रन बनाइन् । मलेसियाको लागि निक नुर अतिएलाले २ विकेट लिइन् भने एसा इलिसा र विनिफ्रेड दुराई सिंघमको भागमा समान १/१ विकेट रह्यो । १११ रनको लक्ष्य लिएर मैदान उत्रेको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रन मात्र बनायो ।
मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनमा अविजित रहे पनि टोलीलाई जित दिलाउन सकिनन् । यस्तै विनिफ्रेड दुराईसिंघमले २० रन बनाइन् । नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १-१ विकेट लिए ।
जितसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा नेपालले २–१ को अग्रता लिएको छ । पहिलो खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली मलेसिया नेपालसंग ७ विकेटले पराजित भएको थियो । अब नेपालले चौथो खेल जेठ २० मा र पाँचौं तथा अन्तिम खेल जेठ २१ मा खेल्नेछ ।