नेपाल–भारत साझेदारीमा नयाँ अध्याय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा नेपाल–भारत सम्बन्ध, साझेदारी विस्तार र ऊर्जा व्यापारमा नयाँ अध्याय खोल्ने गरी सफल भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको निमन्त्रणामा भएको प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणका क्रममा भएका विभिन्न विषयमा उच्चस्तरीय सहमति भएका छन् ।

त्यस क्रममा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सात वटा विषयमा सम्झौता भएको छ। तिनमा ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत जाँच चौकी निर्माण, डिजिटल पेमेन्टसम्बन्धी क्षेत्र समेटिएका छन् ।



राष्ट्रिय समाचार समिति र अन्य विभिन्न सञ्चारमाध्यमले जनाए अनुसार नेपाल–भारत पारवहन सम्झौता नवीकरण भएको छ। सम्झौता नवीकरणसँगै नेपालको जल यातायातका साधन भारतीय जल मार्गमा जान पाउने भएका छन् ।

त्यस्तै सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगन्जबाट चितवनसम्म र सिलिगुडीबाट झापासम्म विस्तार गर्ने, चाँदनी–दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पिडिए तयार गर्ने, फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने, डिजिटल पेमेन्ट सम्झौता, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषमा स्वराज इन्स्टिच्युटबिच सहकार्य गर्ने सम्झौता भएका छन् ।

दुई देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि नेपालका ऊर्जा उद्यमी तथा व्यवसायीले चाहेको दीर्घकालीन बिजुली व्यापारसम्बन्धी सहमति भएको जानकारी दिए ।

पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई आगामी तीन महिनाभित्र सहमति जुटाउन सम्बद्ध सरकारी अधिकारीलाई निर्देशन दिइएको छ। नेपाल र भारतबिच बिजुली व्यापारका लागि महत्त्वपूर्ण मानिएको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको दुई देशका प्रधानमन्त्रीले शिलान्यास गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार