को हुन् लेण्डुप ? आजभोलि नेपाली जनता किन आफ्ना नेताहरूको अनुहारमा लेण्डुपको छाया देख्छन् ?

लेण्डुप ती व्यक्ति हुन् जसले एक स्वत्रन्त्र मुलुक सिक्किमलाई सुनको किस्तीमा राखेर भारतलाई बुझाएका थिए । उनकै कारणले आज सिक्किम भारतको २२औं राज्यका रूपमा भारतमा विलय भएको हो । एउटा शीर्ष नेता बेइमानी भयो भने सिङ्गो देशले आफ्नो सार्वभौम र स्वतन्त्र अस्तित्व कसरी गुमाउन पुग्छ भन्ने नमुना हो सिक्किमको विलय । सिक्किमको अवस्थालाई नजिकबाट नियालेका नेपाली जनता डराउँदै कल्पना गर्छन्– कहिँ नेपालले पनि सिक्किमको जस्तै नियति त भोग्नु पर्दैन ? अनि आफ्ना प्रत्येक नेतालाई लेण्डुपको अनुहारसँग जाँजेर हेर्न थाल्दछन् ।

को हुन् लेण्डुप ?
सन् १९०४ अक्टोबर ११ मा पूर्वी सिक्किमको पाक्योङ भन्ने स्थानमा खाङ्सार्पा परिवारमा लेण्डुपको जन्म भएको थियो । यिनको पूरा नाम लेण्डुप दोर्जे खाङ्सार्पा हो । राजाबाट काजी उपाधि पाएपछि उनको नामको अगाडि ‘काजी’ पनि थपियो । सिक्किमे जनताबीच यिनी कान्छा काजीको नामबाट पनि परिचित थिए ।



छ वर्षकै उमेरमा यिनलाई पढ्न भनेर रुम्तेकस्थित बौद्धविहारमा राखिएको थियो । यिनी त्यहाँ पढ्दै गर्दा एकपल्ट राजा टुल्कु नामग्याल गुम्बाको भ्रमण गर्न रुम्तेक गएका थिए । त्यहाँ ६ वर्षे बालक लेण्डुपको चतुर व्यवहार र फार्तिफुर्ति देखेर राजा प्रभावित भए । उनले लेण्डुपलाई ग्यान्तोक दरबारमा नै लगे । त्यसपछि दरबारमा नै उनको पालन पोषण, रेखदेख र अध्ययनको काम भयो । राजाले दरबारमा रहँदै उनलाई काजीको उपाधि पनि दिए । यसरी भाग्यबस् राजाको कृपादृष्टि, सानिध्यता र सदासयता पाएकै कारण लेण्डुपले अरूभन्दा फरक किसिमले आफ्नो व्यक्तित्व निर्माण गर्न सफल भए ।

लेण्डुप १८ वर्षकै उमेरमा रुम्तेक बौद्धविहारका लामा अर्थात् धर्म गुरु मात्र होइन, त्यस विहारको प्रमुख पनि बनाइए । त्यसपछि उनको रुचि समाज सेवातिर पनि देखिन थाल्यो । समाज सेवा गर्दै उनी सन् १९४५ देखि विधिवत रूपमा राजनीतिमा प्रवेश गरे ।

दाम्पत्य जीवन :
लेण्डुपले सन् १९५७ मा विधवा स्कटिस पत्रकार तथा लेखिका एलिजा मारियासँग बिहे गरे । मासिया बौद्धिक थिइन् । उनले एडेम्बरा विश्वविद्यालयबाट कानुनको डिग्री हासिल गरेकी थिइन् । त्यसैले पनि लेण्डुपको जीवनमा जोडिएपछि लेण्डुपले गर्ने हरेक निर्णयमा मारिकाको प्रभाव हुनेगथ्र्यो भनिन्छ । कतिपय विद्वानहरूले त भारतले मारियामार्फत् नै सिक्किमलाई आफूमा विलय गराउने प्रपञ्च मिलाएको थियोसम्म भनेका छन् । लेण्डुप त मारियाका कठपुतली मात्र थिए भनिन्छ । नभन्दै सिक्किम भारतमा विलय भएपछि मारियाले लेण्डुपलाई छोडेर हिँडेकी थिइन् ।

सिक्किमको आन्तरिक समस्या :
सिक्किम एक स्वतन्त्र राजतन्त्रात्मक मुलुक थियो । त्यहाँ नाम्ग्याल वंशले शासन गर्दै आएका थिए । राजाहरू राष्ट्रवादी थिए तर उनीहरू आफ्ना जनताबीच लोकप्रिय हुन सकेका थिएनन् । त्यसबेला सिक्किममा जातीय लगायत विभिन्न खालको द्वन्द्वहरू भइरहन्थे । त्यस्ता द्वन्द्वहरूको समाधानका लागि राजाहरूबाट खास्सै योगदान हुन सकेन । राजा चोग्यालले अमेरिकन महिलासँग विवाह गरेका थिए, त्यो पनि उनीहरूलाई मनपरेको थिएन । त्यसैले पनि सिक्किमे जनतामा विस्तारै राजतन्त्रविरोधी भावना पुष्पित र पल्लवित हुँदै थियो । सिक्किमको घटनाक्रमलाई नजिकबाट नियालीरहेको भारत यस्तै अवसरको पर्खाइमा थियो र भित्रभित्रै राजाविरोधी भावनामा घ्यु थप्ने कार्य गर्दै थियो ।

लेण्डुपको दिल्ली भ्रमण र नेहरूको मन्त्रणा :
राजनीतिमा होमिएका लेण्डुपको देशभित्र प्रभाव बढ्दै थियो । उनी राजनीतिक पार्टी गठन गर्ने र अर्को पार्टीसँग विलय गरेर आफ्नो आकार बढाउने कार्यलाई निरन्तरता दिँदै थिए । उनी सचेत रूपमा आवरणमा भारतविरोधी र भित्री रूपमा भारतीय शासकको भावना अनुकूल व्यवहार गर्ने गर्थे । सिक्किमे जनता उनलाई राष्ट्रवादी नेता मान्दथे । तर अदृश्य रूपमा उनलाई भारतीय शासकहरूको समर्थन थियो । उनी सिक्किम स्वतन्त्र दलको प्रमुख भएको बेला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले लेण्डुपलाई भेट्ने इच्छा प्रकट गरे । यो सङ्केत पाउने बित्तिकै लेण्डुप नेहरूलाई भेट्न दिल्ली गए । भनिन्छ नेहरूले पनि उनलाई आफ्नै निवासमा राखेर राम्रै खातिरदारी गरेका थिए । सिक्किमलाई भारतमा विलय गराउन नेहरू पनि जनाधार भएको एकजना स्थानीय राजनैतिक पात्रको खोजीमा थिए, त्यसका लागि नेहरूले लेण्डुपलाई उपयुक्त राष्ट्रघाती पात्र हुनसक्ने ठानेको हुनुपर्छ ।

नेहरूसँगको गोप्य मन्त्रणापछि सिक्किम फर्केका लेण्डुप एकाएक राजतन्त्रको विरोधी भए । राजतन्त्रको विरोधमा नाराबाजी गर्न थाले । जुन दरबारले उनलाई संरक्षण प्रदान गरेको थियो, शिक्षा दिएको थियो, काजीको पदवी दिएको थियो र उनको समग्र व्यक्तित्व निर्माणमा अहम् भूमिका खेलेको थियो, उनी त्यसैका विरुद्धमा विष वमन गर्न थाले ।

नेहरूबाट साथ, समर्थन र सहयोगको आश्वासन पाएका लेण्डुपको एकाएक फुर्ती बढ्न थालेको देखियो । उनी राजसंस्थाका विपक्षमा खुलेर लागेपछि सिक्किमे जनता राजसंस्थाको पक्ष र विपक्ष गरी दुई खेमामा बाँडिए । लेण्डुप राजतन्त्रको अन्त्य गरी सिक्किमलाई भारतमा विलय गराउन चाहन्थे भने राजा चोग्याल र उनका समर्थकहरू जुनसुकै मूल्य चुकाएर भए पनि सिक्किमलाई एक स्वाधीन र स्वतन्त्र राष्ट्रका रूपमा अक्षुण्ण राख्न चाहन्थे । तर परिस्थिति प्रतिकूल हुँदैगर्दा राजा अल्पमतमा पर्दै गए ।

लेण्डुप यस अवसरको फाइदा लिन चाहन्थे । आफ्नो प्रभाव थप बलियो बनाउन उनले सन् १९७३ मा सिक्किम जनता काँग्रेस र सिक्किम नेशनल काँग्रेस मिलाएर विशाल सिक्किम काँग्रेस पार्टी बनाए र आफू त्यस पार्टीको अध्यक्ष बने । यसरी उनी धर्म गुरुबाट सिक्किमका शक्तिशाली राज नेता बन्न सफल भए ।

भारतको हस्तक्षेपपछि सन् १९७४ मा सम्पन्न व्यवस्थापिका सभाको चुनावमा ३२ सिटमध्ये सिक्किम काँग्रेसले ३१ सिट जित्न सफल भयो । यसमा भारत र भारतीय गुप्तचरको पनि भूमिका रहेको थियो । लेण्डुप दोर्जे प्रधानमन्त्री भए । आफ्ना पक्षमा भारी बहुमत भएपछि १९७५ मार्च २७ मा बसेको मन्त्रिपरिषद्को बैठकमा राजतन्त्र खारेजीको निर्णय गराए । त्यसपछि नाटकीय रूपमा जनमत सङ्ग्रहको घोषणा गरे पनि त्यो एउटा विधि मात्र थियो । कथित जनमत सङ्ग्रहको जनादेशलाई आधार मान्दै ३२ सदस्यीय संसदमा सिक्किमलाई भारतमा विलय गराउने प्रस्ताव पेश गरे । भारी मतले प्रस्ताव पारित भयो । यसरी स्वतन्त्र अस्तित्व भएको पहाडी मुलुक सिक्किम १९७५ अप्रिल २६ तारिखदेखि भारतको २२औं राज्यका रूपमा गाभियो । राष्ट्रघाती लेण्डुपको सपना साकार भयो । उनी स्वतन्त्र सिक्किमको अन्तिम प्रधानमन्त्री तथा भारत शासित राज्यको पहिलो मुख्यमन्त्री बने ।

लेण्डुपलार्ई आत्मग्लानि :
सार्वभौम सिक्किमलाई भारतमा विलय गराएपछि काजी लेण्डुप दोर्जे भारत शासित सिक्किम राज्यको मुख्यमन्त्री बने र उनका विरोधीहरूलाई निर्ममतापूर्वक दमन गरे । राजा पाल्देन थोन्दुप नामग्याललाई जेलमा हाले । स्वतन्त्र सिक्किमका पक्षमा आवाज उठाउनेहरू सबैलाई क्रूर दमन गरे ।

लेण्डुपलाई सुरुमा भारतको केन्द्रीय सरकारले ज्वाइँलाई जस्तै सम्मान दियो तर विस्तारै काजी लेण्डुपको चर्चा सेलाउँदै गयो । भारत सधैं गद्दार लेण्डुपलाई त्यही रूपमा राख्न चाहँदैनथ्यो र त्यही अनुसार वातावरण बनाउँदै थियो । सन् १९७९ मा भारतको एउटा प्रान्तका रूपमा सिक्किममा चुनाव हुँदा लेण्डुपको पार्टी सिक्किम काँग्रेसले एक सिट पनि जित्न सकेन । काजी लेण्डुपको लज्जाजनक पराजय भयो ।

लेण्डुपको पराजय हुनमा केन्द्रीय सरकारकै हात थियो, त्यति कुरा लेण्डुपले नबुझ्ने कुरै थिएन । त्यसपछि मात्र लेण्डुपले उनीमाथि धोका भएको थाहा पाए । उनीसँग पछुताउनु हुनुबाहेक बाँकी केही थिएन । जसका इशारामा उनले आफ्नो देशमाथि गद्दारी गरेका थिए, उनीहरूले नै लेण्डुपलाई लक्षित गर्दै ‘जसलाई जहिले पनि गद्दारी गर्न सक्ने मान्छे’ भनेर आलोचना गरेको सुनेपछि त उनी राजनीतिबाटै विरक्तिए र सिक्किमबाट नै पलायन हुनपुगे । यसरी देशमाथि गद्दारी गरेर भए पनि सधैं सत्तामा टिकिरहने लेण्डुपको सपना सदासदाका लागि चकानाचुर भयो । सिक्किमे जनताले घृणा गरेपछि र भारतीय नेताहरूले समेत उनलाई धोकेबाजको संज्ञा दिएपछि उनीसँग आत्मग्लानीले छटपटाउनुको विकल्प थिएन । आफूले गरेको कुकर्मबाट पश्चताप मान्दै उनी सिक्किमबाट स्वनिर्वासित भए र पश्चिम बङ्गालको कालेङ्पोङमा गएर बसे । १०३ वर्षको उमेरमा सन् २००७ सालमा त्यहीँ उनको निधन भयो ।

(विभिन्न अनलाइन साइट र मिडियाहरूको सहयोगमा तयार गरिएको सामग्रीको पुनः प्रकाशन)

सम्बन्धित समाचार