सासू वारि, बुहारी पारि, बल्ल भयो भेट

सासू वारि, बुहारी पारि बीचमा झ्याँडी खोलो । यसै खोलोले सासू, बुहारीलाई ३ वर्षदेखि छुट्ट्याएको सुन्दा अचम्म लाग्न सक्छ। तर, वास्तविकता त्यहीँ हो । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मा बस्ने सासू माइली थापा र इन्द्रावती गाउँपालिका–२ बस्ने बुहारी मैयाँ थापाको भेट हुन खोलाले छेक्यो । कारण– पुल नहुनु । तर, यो दूरीको वर्ष अब लम्बिएन। तीन वर्षदेखि वारिपारिको सम्बन्धलाई अहिले खोलामाथि बनेको पुलले जोडेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पुल बनेपछि सासू–बुहारीको भेट भएको हो । भूगोलको दृष्टिले सासू माइली र बुहारी मैयाँको घरको दूरी त्यत्ति टाढा भने होइन। बुहारी मैयाँ थापाको घरबाट झन्डै एक घण्टा ओरालो झरेपछि झ्याँडी खोला पुगिन्छ ।



त्यो खोला तरेर फेरि एक घण्टा उकालो चढेपछि सासू माइली थापाको घर पुग्न सकिन्छ । सर्सरी हेर्दा जम्मा दुई घण्टाको बाटो त हो नि भने झैं लाग्न सक्छ । तर, पनि यो तीन वर्षभित्रको अवधिमा यी सासू–बुहारीको भेट भने एकपटक पनि हुन सकेको थिएन ।

झ्याँडी खोलामाथि पुल बनेर केही दिन अघिदेखि सञ्चालनमा आएपछि बल्ल यी सासू–बुहारीको भेट सम्भव भएको छ । ‘हामी सासू–बुहारीलाई आज यो पुलले भेट गराइदियो’, ओठमा हाँसो र भरिएका गहभरीको आँसुसहित बुहारी मैयाँले भनिन्, ‘पुल नबनेको भए कुन जुगमा पो भेट हुन्थ्यो हाम्रो ।’ लामो समयसम्म सासू–बुहारीबीच भेट नहुनुको कारण खुलाउँदै मैयाँ भन्छिन्, ‘बाटो लामै त होइन, शारीरिक अवस्थाका कारणले दुई÷तीन घण्टा हिँडेर भेट्न जाने आँट नै गर्न सकिएन ।’

दुई वर्षअघि खाद्यान्न पिसानीका लागि नजिकैको मिलमा गएकी बुहारी मैयाँको दुर्घटना भयो । मिलको फित्ताले उनको खुट्टामा गहिरो चोट पुर्यायो । ९ महिनासम्म अस्पतालमा उपचार गराएकी उनको खुट्टा राम्रोसँग ठीक हुन सकेन। मैयाँ अहिले पनि राम्रोसँग हिँड्डुल गर्न सक्दिनन् । हिँड्डुल गर्न उनलाई साहारा चाहिन्छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

सम्बन्धित समाचार