नेपाल चीनसँग पराजित

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल चीनसँग ५-० ले पराजित भएको हो ।

नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ५-० ले नै पराजित भएको थियो । म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा भएको एकतर्फी खेलमा खेलको १६औँ मिनेटमा ओउयाङ युहयानले गोल गर्दै चीनलाई अग्रता दिलाइन् ।



त्यस्तै खेलको २६औँ मिनेटमा  हो उ युसीले गोल गर्दै चीनको अग्रता दोब्बर बनाइन् । खेलको पहिलो हाफको अतिरिक्त समयमा चीनले दुई गोल गर्यो । चीनकी यिन ली होङले र लु जुआयूले गोल गर्दै चीनलाई पहिलो हाफमा ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८९औँ मिनेटमा यु जियाकीले गोल गर्दै चीनलाई ५-० को सहज जित दिलाइन् । अब नेपालले छनोट चरणको अन्तिम खेल यही जेठ २७ गते चाइनिज ताइपेसँग खेल्नेछ । पहिलो खेलमा चीनले चाईनिज ताइपेलाई १-० ले हराएको थियो । छनोटको समूह ‘बी’ को नेपाल अंक विहीन रहँदै पुछारमा रहेको छ । चीन ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

सम्बन्धित समाचार