वानएक्सबेट अनलाइन सट्टेबाजीको आरोपमा ‘बल्छी धुर्वे’ र ‘राजुमास्टर’ सहित आठ कलाकार पक्राउ

वान एक्स बेट सट्टाबाजी गर्न गराउनको लागि उत्प्रेरित गर्न संलग्न रहेको अभियोगमा कलाकारद्वय मरिचमान (बल्छी धुर्वे) र राजु पौडेल (राजुमास्टर) लगायत आठ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भई काठमाडौं बनस्थली बस्ने ३५ वर्षीय मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), कास्की पोखरा महानगरपालिका-३३ घर भई हाल काठमाडौं नयाँबजार बस्ने ३६ वर्षीय राजु पौडेल (राजुमास्टर), धनकुटा चौबिसे गाउँपालिका-५ घर भई भक्तपुर सिरूटार बस्ने २८ वर्षीय पवन खतिवडा (म्याकुरी), उदयपुर घर भई ललितपुर टिकाथली बस्ने २८ वर्षीय युट्युबर अलिस राई, रोल्पा रोल्पा नगरपालिका-६ घर भई काठमाडौं कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर ‘जलन’, मुगु छायानाथ रारा नगरपालिका-५ घर भई ललितपुर टिकाथली बस्ने १९ वर्षीय गणेश देवकोटा (जिडी), मोरङ विराटनगर महानगरपालिका-५ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडो बुढो) र प्युठान मल्लरानी गाउँपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने २८ वर्षीय बेगम नेपाली (भटभटे माइला) रहेका छन् ।



बेटिङ एप्लिकेसन वान एक्स बेटमार्फत विभिन्न खेलहरू खेलाउनको लागि आफ्नो युट्युब च्यानलमार्फत वान एक्स बेटलाई प्रचार प्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड समेत दिई विज्ञापन गरी सर्वसाधारणलाई सट्टाबाजी गर्न गराउनको लागि उत्प्रेरित गर्न संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर सट्टाबाजी गर्न वा गराउन नहुने कसूरमा थप अनुसन्धानको लागि बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार