हार्वर्ड विश्वविद्यालयको आँगनमा पुग्दाको त्यो आनन्द !

……. हार्दिकता, गुन र संवेगलाई छातीभरि बोकेर दाहिने हातले लगेज तान्दै भावुक मुद्रामा म राधा बहिनीको निवासबाट बाहिरिएँ । मेरा पछि पछि बहिनी पनि मलाई पुर्यायन भनेर सडकसम्म आइन् । केही पर गाडी रोकेर बसेका उपेन्द्रजीले मलाई लगेजसहित सडकमा देखेर हात हल्लाउनु भयो । म उत्तैतिर लम्किएँ ।

उपेन्द्रजीसँग पनि मेरो पहिलो भेट भएकोले गाडीमा बस्तैगर्दा हामीबीच छोटो परिचयात्मक कार्यक्रम पनि सम्पन्न भयो । भर्जिनिया कर्मथलो बनाउनुभएका विष्णु शीतलजीको कृपाबाट उहाँसँग मेरो भेट सम्भव भएको थियो । गाडीमा उपेन्द्रजी, उहाँकी श्रीमती र दुई बच्चा गरी चारजना थिए । उपेन्द्रजी गाडी चलाइरहनुभएको थियो । उपेन्द्रदम्पती नै आइटी इन्जिनियर रहेछन् । न्यु जर्सीमा बस्न लागेको धेरै भएछ । उहाँहरूको बोलीचाली र व्यवहार देख्ता लाग्यो– उहाँहरू आर्थिक रूपमा मात्र होइन, व्यवहारिक रूपमा पनि सम्पन्न हुनुहुँदोरहेछ ।



गाडीको आधा खोलेको शीशाबाहिरबाट राधा बहिनीले उपेन्द्रजीलाई सङ्केत गर्दै भनिन् ‘सर, दाइ (मलाई देखाउँदै) न्युयोर्कका लागि नयाँ हुनुहुन्छ । दिनभरि घुमाएर अपरान्ह ४ः३० बजे बोस्टनको क्याब्रिज जाने बसमा चढाइदिनुहोला ।’ अनि मतिर फर्केर भनिन् ‘दाइ ! अर्कोपल्ट आउँदा मेरोमा कम्तीमा एक हप्ता बस्ने गरी आउनुहोला, भाउजूलाई पनि लिएर ।’ अनि उनले हात जोडेर विदाइको अभिवादन गर्दैगर्दा गाडी विस्तारै अगाडि बढ्यो ।

उपेन्द्रजीले सेन्ट्रल पार्क, सेन्ट्रल लाइब्रेरी, टाइम स्क्वायरलगायतका राम्रा र रमणीय स्थानमा घुमाइदिनुभयो । कति ठाउँमा चाहिँ गाडी पार्क गर्ने ठाउँको अभावमा गाडीबाट झरेर घुम्न पाइएन तर पनि गाडीभित्रैबाट हेरेर चित्त बुझाइयो । घुम्ने क्रममा पानी परेर केही डिस्टर्ब भएजस्तो भए पनि घुमाइमा ठूलो अवरोध भने भएन । तर पानीकै कारण स्ट्याचु अफ लिबर्टी जान नपाएको चाहिँ पक्कै हो । त्यो ठाउँ अर्कोपल्टका लागि थाती रह्यो ।

स्वप्निल शहर न्यु योर्क घुम्दा समय गएको पत्तै नहुने रहेछ । जता हेर्यो त्यतै हेरिरहुँजस्तो लाग्ने मनमोहित पार्ने दृश्यहरू, गगनचुम्बी बिल्डिङहरू, व्यस्त तर जालोजस्तो फैलिएका सडकहरू, शहरका बीचको सेन्ट्रलपार्क, भूमिगत रेल्वे लाइनहरू आदिको दृश्यावलोकन गर्दैगर्दा व्यक्ति आफैंभित्र हराउँदोरहेछ । म पनि आफैंभित्र आफैं हराएजस्तो भइरहेको थिएँ । जो सुकैको भाग्यमा नजुर्ने यस मनमोहक शहरको अवलोकन गर्दागर्दै अपरान्हको ४ बज्न लागेछ । समयको सङकेतले हामीलाई बस स्टपतिर जान सचेत गरायो । उपेन्द्रजीले बसपार्कतिर गाडी मोड्नुभयो ।

बोस्टन जाने बस् छुट्नुभन्दा १० मिनेट अगाडि नै हामी बस स्टप पुग्यौं तर हामी बस स्टप पुग्नु र बोस्टन जाने बस आइपुग्नु सँगैजस्तो भयो । बिरबिर बिरबिर पानी पर्दै गरेको भए पनि बसमा चढ्नु अगाडि स्मरणका लागि केही सामुहिक फोटो खिच्यौं । म उपेन्द्रजी दम्पतीसँग आभार प्रकट गर्दै विदा भएर बसमा चढेँ । केही क्षणमा बस आफ्नो गन्तव्यतिर अगाडि बढ्यो ।

अमेरिकामा बसबाट गरिने लामो दूरीका् यात्रा पनि रोमान्चक हुँदोरहेछ । सुविधासम्पन्न बसबाट निश्चित गतिमा निरन्तरको दौडाइले रोमाञ्चकता पैदा गर्दोरहेछ । पहिलोपल्ट कलेजस्टेशनबाट डालससम्म जाँदा, दोस्रोपल्ट मेरिल्याण्डबाट न्यु योर्कसम्म आउँँदा र तेस्रोपल्ट न्यु योर्कबाट बोस्टन (म्यासाच्युसेट्स्) जाँदै गर्दाको अनुभवलाई एकमुष्ट रूपमा भन्नुपर्दा मलाई त बसको यात्रा खुबै रमाइलो लाग्यो । निर्धारित स्थानबाट छुटेपछि गन्तव्यमा नपुगी नरोकिने, टोइलेटको व्यवस्था बसभित्रै हुने, आनन्ददायक सिटहरू तथा बाटोमा पर्ने शहर र गाउँहरू हेर्दै हेर्दै हिँड्न पाइने भएकोले प्लेनमा भन्दा बसको यात्रामा छुट्टै प्रकारको रमाइलो अनुभूुति हुँदोरहेछ ।

तर, बाटोमा कतै नरोकिने भएकोले खाजाको व्यवस्थाचाहिँ पहिले नै गर्नुपर्ने रहेछ । धन्न राधा बहिनीले जबरजस्ती गरेर भए पनि मेरो व्यागमा फलफूल हालिदिएकी थिइन् र भोकले व्याकुल भएको स्मरण लेख्नु परेन । बोस्टनतिरको बस यात्रामा रहँदा भारतीय बजार भनेर चिनिने ज्याक्सन हाइटमा किनेको फलफूलले ठूलो राहत दियो ।

न्यु योर्कबाट छुटेको बस करिब चार घण्टा तीस मिनेटको निरन्तरको गुडाइपछि रातको ९ बजेतिर बोस्टन पुग्यो । एकछिनको प्रतीक्षापछि भाइ नीलम गाडीसहित मलाई पिकअप गर्न बस स्टप आइपुगे । लामो समयपछि दाजुभाइको भेट भएको थियो । भलाकुसारी गर्दै नीलम भाइका निवासतिर लाग्यौं ।

नीलम भाइले अमेरिकालाई कर्मथलो बनाएको निक्कै भयो । शुरुका दिनहरूमा केही हण्डर खानुपरे पनि अहिले उनले राम्रै प्रगति गरेका रहेछन् । घर निक्कै ठूलो र राम्रो रहेछ । ठूलो कम्पाउण्ड पनि । बोस्टन सिटीबाट १०–१५ मिनेटको ड्राइभमा रहेको नीलम भाइको घर निक्कै पायक पर्ने ठाउँमा रहेछ । निरन्तरको सङ्घर्षपछिको उपलब्धि गौरव गर्न लायक भएछ ।

बोस्टन पुगेको तेस्रो दिन अर्थात् १६ मे २०२२ का दिन हामी हार्वर्ड विश्वविद्यालय परिसर घुम्न भनेर गयौं । अमेरिकाकै पुरानो र ठूलो भनेर चिनिने हार्वर्ड विश्वविद्यालयको आँगनमा पुग्न पाउँदा मलाई कता कता गर्वले छाती फुलेको अनुभव भयो । यो विश्वविद्यालय सन् १६३६ तिर स्थापित भएको रहेछ । आरम्भमा यो शैक्षिक संस्था न्यु कलेज वा कलेज अफ न्यु टाउनको नामबाट चिनिँदोरहेछ भने सन् १६३९ मा यसको नाम हार्वर्ड कलेज राखिएछ । यही कलेज सन् १७८० मा हार्वर्ड विश्वविद्यालयका रूपमा रूपान्तरण भएको रहेछ । अहिले यो शैक्षिक संस्था हार्वर्ड विश्वविद्यालयको नामबाट संसारभरि विख्यात छ ।

विश्वविद्यालयको परिसर निक्कै ठूलो रहेछ । गेटबाट पसेको केही छिनमा आउने विश्वविद्यालयका संस्थापक जोन हार्वर्डको बसेको अवस्थाको भव्य शालिकले सबैको ध्यानाकर्षण गर्दोरहेछ । यो शालिक बौद्धिक व्यक्तिहरूका लागि तीर्थस्थल जस्तै पवित्र मानिँदोरहेछ । हार्वर्ड विश्वविद्यालय घुम्न आउने सबै पर्यटक शालिकमा स्पर्श गरेर श्रद्धाले शीर झुकाउँदा रहेछन् । अनि, स्मरणका लागि शालिकका अगाडि उभिएर सामुहिक वा व्यक्तिगत फोटो खिचेर मात्र विश्वविद्यालय परिसरको भ्रमण आरम्भ गर्दा रहेछन् । हामीले पनि त्यसै गर्यौं ।

विश्वविद्यालयको क्षेत्र निक्कै ठूलो र फराकिलो रहेछ । परिसरभित्रको पुस्तकालय पनि निक्कै ठूलो र भव्य रहेछ । धेरैवटा ब्लकहरू र पराकिलो क्षेत्रमा फैलिएको विश्वविद्यालय परिसरभित्र प्रसस्त रूखहरू जोगाएर राखिएका रहेछन् । खाली स्थानहरूमा या त कलात्मक बगैंचाहरू रहेछन् या त चौरका रूपमा खालि छोडिएको रहेछन् । आफू पनि लामो समयसम्म शिक्षण पेशामा आबद्ध रहेकोले अमेरिकाजस्तो विकसित देशको पुरानो र चर्चित शैक्षिक संस्थाको परिसरमा विचरण गर्न पाउँदा साँच्चै रमाइलो अनुभव भयो । हार्वर्ड विश्वविद्यालय परिसरभित्रको आफ्नो उपस्थिति ऐतिहासिक लाग्यो मलाई । अमेरिकन नागरिककै लागि पनि यहाँ घुम्न आउन पाउनु ठूलो कुरा हुँदोरहेछ । मलाई यो अवसर जुटाइदिने तथा अवलोकनमा साथ दिने भाइ नीलम र भतिज निरोजलाई मनमनै धन्यवाद दिएँ ।

बोस्टन शहरसँग जिस्किन आउने उत्तर एटलाण्टिक सागरको पानी स्पर्श गर्नु र फेरि (विद्युतीय डुङुगा) मा चढेर सागरको नीलो पानीसँग खेल्न पाउनु यस भ्रमणको अर्को महत्वपूर्ण उपलब्धि रह्यो । नीलम भाइ बोस्टनमा लामो समयदेखि बसिरहेकोले उनलाई घुम्ने रमणीय स्थान थाहा पाउन कठिन थिएन । अतः उनले समय मिलाएर मलाई धेरैतिर घुमाइदिए । यसै क्रममा फेरिबाट सामुन्द्रिक यात्रा पनि गरेका थियौं । उत्तर एटलाण्टिक सागरको किनारको भाग नै सही, धेरै मानिसहरूसँग विद्युतीय नौका (फेरि) मा चढेर विशाल समुन्द्रमा यात्रा गर्दाको सुखानुभूतिको वर्णन गरेर साध्य छैन । सबै अनुभवहरू शब्दबाट अभिव्यक्त हुन सक्तैनन् । त्यस्तै महसुस भयो मलाई पनि ।
हुन त विसं २०६१ सालअघि व्यवसायिक कामको सिलसिलामा म तीन चारपटक भारतको मुम्बई गएको थिएँ । त्यहाँ रहँदा जुहू विचको किनारमा जलक्रिडा गर्ने अवसर जुटेको थियो भने इण्डिया गेटबाट पहिलोपल्ट मोटर बोटमा चढेर अरवियन सागरको केही भागको जलयात्रा गर्ने पनि अवसर मिलेको थियो । भारत नेपालसँगै सीमा जोडिएको देश भएर होला, मुम्बैको सामुन्द्रिक यात्राभन्दा अमेरिकाको पहिलो सामुन्द्रिक यात्रा विशेष लाग्यो मलाई ।

गर्मी महिना (मे–जुन) मा बोस्टनको भ्रमण गर्ने अवसर जुरेकोले निक्कै रमाइलो अनुभव भयो । तर जाडो महिनामा भने बोस्टन निवासीले निक्कै कठिनाइ व्यहोर्नु पर्छ रे । भाइ नीलम भन्थे– ‘हिउँदे समयका केही दिन त बिहान गाडी निकाल्नुभन्दा पहिले बेल्चा लिएर निस्कनुपर्छ, २÷३ फिट जमेको हिउँ फ्याँकेर बाटो बनाउनु पर्छ, नत्र गाडी निकाल्नै कठिन हुन्छ ।’ तर म गर्मी मौसममा त्यहाँ पुगेकोले त्यस्तो असजिलो केही व्यहोर्नु परेन । बरू पटक पटक सामुन्द्रिक यात्राको सुखानुभूति गर्न पाइएको थियो ।

बोस्टन घुम्ने रहर मेटिएकै थिएन, टेक्सासबाट छोरी संगीताले फोन गरेर क्यानाडाबाट गोपाल मामा र मीना माइज्यू मलाई भेट्न टेक्सास आउन लागेको जानकारी गराएपछि मैले बोस्टनको यात्रालाई छोट्याउनु पर्ने भयो । वास्तवमा म यसपटक न्यु योर्कबाट गाडीको बाटो हुँदै क्यानाडा र अमेरिकाको सीमानामा पर्ने नागरा फल्सको सौन्दर्यको अवलोकन गर्दै टोरन्टोसम्म पुग्ने सोच बनाएको थिएँ तर नेपालबाट क्यानाडाको भिजा लगाउन नभ्याई अमेरिका उडेकोले क्यानडा पुग्ने मेरो चाहना यस पटक पनि पूरा नहुने भएको थियो । त्यसैले क्यानाडाको टोरन्टोमा रहेका गोपाल र मीना मलाई भेट्न टेक्सासस्थित छोरी संगीताको घर भएको स्थान कलेज स्टेशन नै आउने भएछन् । टोरोन्टो जान नपाए पनि गोपाल र मीनासँग पनि भेट हुन पाउने भएपछि मलाई खुसी नै लाग्यो ।

म टेक्सास फर्किन तयारीमा लागेँ । नीलम भाइ, बुहारी रोजिना, भतिज निरोज र सानी भतिजी रूबीसँग छुट्टिनुपर्ने घडी आयो । मनमनै फेरि अर्कोपल्ट बोस्टन घुम्न आउने सोच बनाउँदै लगेज मिलाउन लागेँ । नीलम र भतिजले एयरपोर्टसम्म लगिदिए । मेरो बोर्डिङ पास भएपछि उनीहरू फर्किए । म बोस्टन एयरपोर्टबाट डेल्टा एयरद्वारा टेक्सासको अस्टिनका लागि उडेँ ।

म भाइ निलम र बुहारी रोजिनाको आतिथ्यबाट ज्यादै प्रभावित बनेको थिएँ, एक प्रकारले नतमस्तक नै भएको थिएँ । अमेरिकाको व्यस्त जीवनबाट पनि दैनिक समय निकालेर उनीहरूले मलाई घुमाउन नयाँ नयाँ ठाउँमा लैजान्थे । कहिले फेरिमा चढाएर सामुन्द्रिक यात्राको रमाइलो अनुभव गराउन हार्बर क्रुज, कहिले साइन्स म्युजियम, कहिले छालसँग जिस्किन सामुन्द्रिक बिच (दभबअज) मा, कहिले हार्वर्ड विश्वविद्यालयको आँगनमा र कहिले ऐतिहासिक बोस्टन शहर (डाउनटाउन) घुमाउन र कहिले पार्कको आनन्द लिन लैजान्थे । भाइ नीलमले लगाएको गुन बिर्सिनसक्नुको थियो । बोस्टन पुगेको दिनदेखि त्यहाँबाट प्रस्थान गर्नु अगाडिसम्मका घुमाइका रोमाञ्चक घटनाक्रमहरूको मिठो कल्पना गर्दागर्दै करिब चार घण्टाको हवाइयात्रा पूरा गरी म अस्टिन पुगेँछु । जहाज ल्याण्डिङ गर्न लाग्दा पो तन्द्रा भङ्ग भई झल्याँस्स हुनपुगेँछु ।

म अस्टिनको एयरपोर्टमा आइपुगेको केही समयमा अनिल भाइ मलाई पिकअप गर्न आइपुगे । उनले मलाई छोरी संगीताको घर कलेज टेशनसम्म लगिदिन भनेर गाडी लिएर एयरपोर्ट नै आएका थिए । अनिल भाइले पहिले मलाई खाना ख्वाउन नेपाली रेष्टुरेण्टमा लगे र त्यसपछि काल्डवेलसम्म लगिदिए । त्यहाँ मेरा एक परममित्र दशरथजीको ग्यास स्टोर थियो । स्टोर त्यहाँ भए पनि उहाँको घर कलेज स्टेशनमा मेरो छोरीको घर नजिकै थियो । उहाँ विहान सबेरै स्टोर गएर दिउँसो फर्कनुहुन्थ्यो । त्यसैले मैले उहाँसँगै कलेज स्टेशन जाने निंधो गरेँ । अनि, केही समय साथीको स्टोरमा बसेर साथीसँगै म कलेज स्टेशनतिर लागेँ भने अनिल भाइ अस्टिनतिर फर्किए । फर्किनुअघि अनिल भाइले मलाई उनकोमा केही दिन बस्ने गरी आउन आग्रहसमेत गरे ।

साथी दशरथजी नेपालमा हुँदा रगमार्कमा काम गर्नु हुन्थ्यो । उहाँ सम्भावनाको खोजी गर्दै अमेरिका भासिएपछि उहाँको राम्रो प्रगति भएको जानकारी पाएको थिएँ । फोन संवाद हुँदा शुरुका दिनहरूमा उहाँ केही आत्तिएजस्तो देखिनु हुन्थ्यो तर समयसँगै अमेरिकाको दैनिकीसँग अभ्यस्त हुनुभएको र आफूले गरेको प्रगतिबाट सन्तुष्ट नै भएको आभास पाएको थिएँ । छोरी संगीता भन्ने गर्थी ‘अङ्कलको राम्रो प्रगति भएकाृ छ ।’ सुन्दा खुसी लाग्थ्यो मलाई । भेटेपछि त प्रमाणित नै भयो ।

म उहाँलाई भेटेपछि एउटा सन्दर्भ भने सँधै स्मरण गर्ने गर्छु । त्यो के भने, उहाँ अमेरिका आएर काम गर्न थालेपछि पहिलोपल्ट एउटा गाडी किन्नुभएछ । (पछि थाहा पाएँ– अमेरिकामा गाडी किन्नु भनेको ठूलो कुरा होइन रहेछ । त्यसबेला नेपालमा त गाडी किन्नु भनेको निक्कै ठूलो घटना बन्थ्यो ।) आफूले किनेको गाडी ड्राइभ गर्दै एकदिन मलाई फोनमा भन्नुभयो– ‘लक्ष्मी सर, मैले गाडी किनेँ । अब मलाई सरलाई मेरो छेउमा राखेर विगतका दिनहरूका बारेमा गफ गर्दै यहाँ घुम्ने रहर छ । मेरो त्यो रहर कहिले पूरा होला वा नहोला थाहा छैन तर मैले सरलाई धेरै मिस गरिरहेको अनुभव हुन्छ ।’ फोनमा उहाँका कुरा सुनेर गर्वले मेरो छाती फुलेको अनुभव हुन्थ्यो । अमेरिका घुम्ने सौभाग्य पाउने कल्पना नगरेको त्यस बखत साथीको कुराले मात्र पनि मलाई आत्मविभोर बनाउँथ्यो ।

काठमाडौंमा बस्दा हामी ज्यादै निकट भएका थियौं । आपसमा धेरै कुराहरू सेयर हुन्थे । तर झापाको कुनै गाउँबाट काठमाडौं आएर सङ्घर्ष गरिरहेको मलाई अमेरिका पुगेर साथीले किनेको गाडीमा बसेर अमेरिकाका सफा र फराकिला बाटाहरूमा गफ गर्दै घुम्न पाइएला भन्ने कल्पना नै थिएन । सम्भावना होला जस्तो पनि कहिल्यै लाग्दैनथ्यो । प्रसङ्गबस् कहिलेकाहीं सम्झँदा मात्र पनि मन त्यस्सै रोमाञ्चित बनिदिन्थ्योे । अमेरिकाको यात्रा दिवासप्नजस्तै लाग्थ्यो तर असम्भव के रहेछ र ? आज म उनै साथीको नयाँ गाडीमा चढेर कलेज स्टेशनस्थित छोरीको घरतिर जाँदै थिएँ । उहाँ गाडी चलाउँदै बाटोका दुबै किनारामा फुलेका मनमोहक ब्ल्युबनेट फूलको सौन्दर्यको चर्चा गर्दै हुनुहुन्थ्यो, म भने भाग्यले जुराएको यस स्वप्निल यात्राको बारेमा सोच्दै थिएँ ।
क्रमशः…..

सम्बन्धित समाचार