त्रिविमा अस्तव्यस्त शैक्षिक पात्रो : परीक्षा हुनै डेढ वर्ष, नतिजा अन्योलमा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिका सार्वजनिक भएको छैन । ती विद्यार्थीको २०७८ साल चैतदेखि पढाइ सुरु भएको थियो ।

शैक्षिक पात्रो (क्यालेन्डर) नियमित भइदिएको भए ती विद्यार्थीले अहिले तेस्रो वर्षको पनि करिब आधा पढाइसकेका हुन्थे । तर १५ महिना बित्दा पनि दोस्रो वर्षकै परीक्षा दिन नपाउँदा उनीहरू निकै तनावमा छन् ।



कलङ्कीस्थित एड्मार्क कलेजमा अध्ययनरत अविन महर्जनले भने, “पढेको जति सबै बिर्सिसक्यौँ । अब के पढ्ने, कसरी परीक्षा दिने भन्ने चिन्ताले सताएको छ ।” ती विद्यार्थीको ठाउँमा अहिले स्नातकमै दोस्रो वर्षकै नयाँ समूहका विद्यार्थी आइसकेका छन् । केही निजी क्याम्पसले पहिलो र दोस्रो दुवै समूहका विद्यार्थीलाई सँगसँगै राखेर पढाइरहेका छन् ।

त्रिविमा वार्षिक प्रणालीमा मात्रै होइन, सेमेस्टर प्रणालीमा सञ्चालन भइरहेका स्नातक तहकै तथा स्नातकोत्तर तहमा परीक्षा र पढाइ नियमित छैन । शैक्षिक पात्रो अनुसार पढाइ, परीक्षा र नतिजा सम्पन्न गर्न नसकेकै कारण मुलुकको उच्च शिक्षाको ८० प्रतिशत विद्यार्थी भार बोकिरहेको त्रिविले सार्वजनिक आलोचना खेप्दै आइरहेको छ ।

समयमै परीक्षा र नतिजा सार्वजनिक नहुँदा विद्यार्थीले थप अध्ययनको योजना बनाउन सकेका छैनन् । लोक सेवा आयोग वा अन्य सरकारी रोजगारीमा प्रतिस्पर्धा गर्नबाट वञ्चित छन् । विद्यार्थीले हरेक वर्ष खेप्नुपर्ने यो हैरानीबाट कसरी मुक्त गराउने भन्ने विषयमा त्रिविका जिम्मेवार पदाधिकारीसमेत चित्तबुझ्दो जवाफ दिन सक्दैनन् ।

एक त रोजगारी केन्द्रित पढाइको अभाव, त्यसैमाथि पढाइ, परीक्षा र नतिजाको समय भरपर्दो नभएपछि थप अध्ययनका नाममा बिदेसिने विद्यार्थीको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ ।

पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले वार्षिक प्रणाली अनुसार पढाइ हुने तहका विद्यार्थीलाई शैक्षिक पात्रोको अनियमितताका कारण सबैभन्दा धेरै समस्या परेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार