हिजो एमाले आफैंले प्रधानमन्त्री बनाएका प्रचण्डलाई अहिले किन माग्दैछ राजीनामा ?

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस ११ गते नेकपा एमाले सहितको सत्ता साझेदारीका प्रधानमन्त्री बने । नेकपा एमालेको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बन्यो तर दुई महिनामै प्रचण्डले सत्ता साझेदारीका सहयात्री दल एमालेलाई छाडेर उनले काङ्ग्रेससहितको नयाँ गठबन्धन बनाए । अहिले प्रचण्डको सर्वत्र आलोचना भइरहेछ । हिजो सत्ताको सहयात्री दल नेकपा एमाले अहिले प्रचण्डको राजीनामा माग्दै सदनमा अवरोध गरिरहेछ । प्रचण्ड आफ्नै अभिव्यक्तिका कारण आलोचित बनेका हुन् ।

प्रचण्डले ललितपुरमा आयोजित एक पुस्तक बिमोचन कार्यक्रममा सरिक हुँदै सरदार प्रितम सिंहकोे निक्कै प्रशंसा गरे । प्रितम सिंह लामो समयदेखि नेपालमा व्यवसाय गर्दै आएका भारतीय नागरिक हुन् । नेपालको राजनीतिमा गहिरो प्रभाव पार्न सक्ने हैसियत बनाएका सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सिलसिलामा धेरै पटक दिल्ली दौडाह गरेको कुरा प्रचण्डले आफैंले खुलासा गरेका हुन् ।



दिल्लीको सहयोगमा आफू प्रधानमन्त्री भएको आशय झल्कने प्रचण्डको अभिव्यक्ति स्वाभिमानी नेपाली जनतालाई पचाउन गाह्रो हुनु स्वाभाविक नै थियो । र, जनस्तरबाट तीब्र आलोचना आरम्भ भयो । आन्तरिक संवेगलाई नियन्त्रण गर्न नसकी अलिक हौसिएर बोल्ने स्वभाव भएका प्रधानमन्त्री प्रचण्ड आफ्नै बोलीका कारण विभिन्न समयमा विवादमा पर्दै आएका छन् । प्रचण्ड र विवाद एकअर्काका पर्यायवाची बनेका छन् । बेला बेला हौसिएर बोल्ने उनको स्वभाव नै हो । यसरी बोल्दा बोली चिप्लिएको चाल पाएपछि पनि जनतासँग क्षमा माग्नुको साटो मिडिया र जनतालाई नै घुमाउन खोज्दा उनी आफैं खाल्टोमा जाकिने गर्छन् । यसपटक पनि त्यस्तै भएको हो ।

अहिले प्रचण्डलाई आफ्नै अभिव्यक्ति भारी भएको छ र प्रतिरक्षाको लागि सबैसँग हात जोड्नुपर्ने अवस्था सिर्जना भएको छ । शान्ति प्रक्रियामा आएदेखि नै सिंहसगँ नजिकको सम्बन्ध बनाएका प्रचण्ड आफू प्रधानमन्त्री बन्न सिंहले दिल्ली दौडाहा गरेको आशय व्यक्त गरेपछि अहिले प्रतिव.पक्षमा रहृको एमाले विरोधमा उत्रिएको छ । प्रम प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाधीनताविपरीत भएको भन्दै एमालेले संघीय संसदको दुबै सदनमा प्रधानमन्त्रीको राजीनामा माग्दै दुबै सदन अबरुद्ध गर्दै आएको छ । एमालेको अबरोधका कारण दुबै सदन चल्न सकेका छैनन् ।

यस प्रकरणभन्दा केही समय पहिले माओवादी केन्द्रका उपाध्यक्ष एवमं पार्टी प्रवक्ता कृष्णबहादुर महराले नेपाल सरकार विदेशीले चलाएको छ भन्ने अभिव्यक्ति दिएका थिए । महराको त्यो अभिव्यक्तिले खासै चर्चा पाएन तर महराको त्यस अभिव्यक्तिलाई प्रचण्डको अभिव्यक्तिले चाहिँ पुष्टि गरिदिएको छ । देशका प्रधानमन्त्रीका रूपमा आएको प्रचण्डको विवादित पछिल्लो अभिव्यक्तिले भने चौतर्फी आलोचना व्यहोरिरहेको छ । प्रचण्डले आफ्नो बोलीको बचाउमा जे बोले÷गरे पनि त्यो कमजोर सावित भएको छ ।

माओवादी केन्द्र यतिखेर आफ्नो सम्पूर्ण ऊर्जा खर्च गरेर प्रचण्डको बचाउमा लागेको छ । उनीहरू एमाले र केपी ओलीको आलोचना गर्दै प्रचण्ड सरकारले भ्रष्ट्रचारविरोधी अभियान चलाएकोले यसलाई रोक्न एमालेले प्रमको राजीनामा मागिरहेको तर्क अघि सारेको छ । सत्ता साझेदार नेपाली काङ्ग्रेसले भने मौनता साँधेको छ ।

नेपालको सरकार बनाउने र गिराउने कार्यमा विदेशीको भूमिका रहने कुरा बेलाबेला चलिरहे पनि स्वयम् प्रधानमन्त्रीले त्यस्तै आशय बोकेको अभिव्यक्ति दिनुचाहिँ किमार्थ ठीक कुरा होइन । यदि प्रचण्डको अभिव्यक्ति सही हो भने हिजो नेकपा एमालेले प्रचण्डलाई किन प्रधानमन्त्री बनायो त भन्ने प्रश्न स्वाभाविक रूपमा एमालेतिर नै तेर्सिन्छ ।

सभ्य समाजमा राजनैतिक नैतिकताले ठूलो माने राख्ने भए पनि नेपालमा भने राजनैतिक नैतिकताको खडेरी नै देखियो । आफू र आफ्नो दलले जे गरे पनि जायज हुने तर अर्कोले गरेको सानोतिनो कमजोरीलाई चाहिँ पहाडझैं विशाल देख्ने पूर्वाग्रही दृष्टिकोणबाट नेपाली राजनीति मुक्त हुन सकेन । संयोग नै भए पनि प्रचण्ड सरकारले भुटानी शरणार्थी काण्ड र ललिता निवास जग्गा अनियमितताको फायल खोल्नु, दुबै प्रकरणमा एमालेका वरिष्ठ नेताको संलग्नता देखिनु र अहिले प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले जोडदार रूपमा राजीनामाको माग गर्नुमा कतै स्वार्थको कनेक्सन त छैन भनेर शङ्का गर्ने ठाउँ भने पक्कै पनि देखिन्छ ।

सम्बन्धित समाचार