कविता : टिन एजको प्रेम

दुई चुल्ठी बाटेर
स्कुलतिर लाग्थेँ म ।
चिरपरिचित ती गोरेटोहरू
आफ्नै सखीहरू झैँ लाग्थे मलाई,
रातो रिबन हावाले फर्फराउँदा,
आफैँ दङ्गदास बन्थेँ म ।

नयाँ बस्तिका केटाकेटीहरू
मेरा साथीहरू थिए स्कुले जीवनका
अनि सम्झन्छु—
मेरो बाल्यकालको मन बिसाउनी
टाउनप्लानिङको त्यो रातो घर,
खै किन हो,
सधैँ घुमिरहन्थ्यो मेरो मनमष्तिष्कमा ।



पाइलाहरू अघि सर्दै जाँदा,
प्लानिङका घरका झ्यालहरूबाट
आवाजहरू झर्थे, अभिभावकहरूका
‘भात खान आइज,
स्कुल जान ढिलो भयो ।’
छोराछोरीलाई बोलाउँथे
स्नेहले झपार्दै ।
कोही भने ढोका खोल्दै सरिक हुन्थे मैंसँग
स्कुल जान, मनमुटुभरि उत्साह बोकेर ।

जति जति नजिकिँदै जान्थ्यो, टाउनप्लानिङको बाटो
उति उति जोडले धड्किन थाल्थ्यो मेरो बाल–मन
कारण थियो– त्यो रातो घर ।

ढ्वाङ्ग ढोका खुल्थ्यो
गलल हाँस्थे मेरा साथीहरू,
थप एउटा आकृति सामेल हुन्थ्यो समूहमा
रहर र खुसीको भारी बोकेर
नजिकिन्थ्यो त्यो मसँग ।
रातिन्थ्यो मेरो अनुहार…
तर, सहजै भन्थ्यो ऊ–
‘के छ मुटु ?’
मचाहिँ पुलुक्क हेर्दै रातो घरको ढोकातिर
तल्लो ओठ टोक्तै, इन्द्रेनीका रङ घोलेर
अनायसै मुस्कुराईदिन्थेँ, खै कुन्नि के सम्झेर ।

उसको प्रवेशसँगै मेरा साथीहरू
विभाजित हुन्थे दुई समुहमा,
म र ऊ एउटा समूह,
बाँकी अरू अर्को ।

बोल्थ्यो ऊ केही कठोर बनेर–
‘दिन्नौ तिमी कुनै प्रतिक्रिया ?
केवल मुस्कुराइरहन्छ्यौ,
जुन कुराले विचलित हुन्छु म सधैँ ।
थाहा छ तिमीलाई ?
तिम्रो हँसिलो अनुहार
मेरो औषधि हो मनको,
तर नबोली नबोली कहिल्यै
चिट नगर्नू मलाई,
साँच्चै भनेको,
औधि माया गर्छु म तिमीलाई ।’
अनि,
उसको घरको गेटमा फुलेको
रातो फूल गुलावको
सायद प्रेम प्रतीकका रूपमा
थमाइदिन्थ्यो मेरो हातमा ।

कति बुझे मैलेँ त्यसबखत, थाहा छैन
उत्तर के दिनुपथ्र्यो मैले, त्यो पनि थाहा छैन
तर
लज्जावती झारझैं लजाउँदै
निशब्द बनेको सम्झन्छु म ।

त्यसपछि पनि कुराहरू त भए
तर केवल लेखपढ् र होमवर्क आदिका ।

स्कुल पुगेपछि,
ऊ केटा साथीहरूतिर लाग्थ्यो
म केटी साथीहरूतिर,
यस्तै थियो हाम्रो दैनिकी ।
समय बित्तैगयो क्रमश…
तर त्यो स्कुले जीवन,
एसएलसीपछि केवल
मिठो सम्झनामा सीमित भयो ।

सुन्दैछु अहिले–
ऊ डाक्टर बनेको छ रे,
कहिलेकाहीँ बाटो पर्दा
परबाट नियाल्छु–
त्यो रातो घरलाई,
तर सँधै बन्द हुन्छ
रहस्यमय तरिकाले
उसको कोठाको त्यो आँखीझ्याल ।
तैपनि खै किन मडारिन्छन् मानस्पटलमा
स्मृति र विस्मृतिको भारी बोकेर
ती पुराना यादहरू !

सम्झन्छु कहिलेकाहीँ–
उसको मनमा मेरो छाया छ कि बिलायो होला ?
उसले राखेको प्रेम प्रस्ताव
उसलाई याद छ कि बिर्सियो होला ?
भौतिक दूरी त टाढा छैन, उसको र मेरो
तर मनको दूरी टाढिएपछि….. ….
अनि लाग्छ–
त्यो टिन एजको प्रेम थियो, र
प्रस्ताव पनि त्यस्तै अपरिपक्व थियो सायद !

अब त समयसँगै उसको
सोच पनि बदलियो सायद
समयसँगै
रूचि, स्वार्थ र साथी पनि बदलियो सायद
परिस्थिति बदलिएपछि
कसलाई पो याद रहन्छ होला–
टिन एजको प्रेम ?!!

 

सम्बन्धित समाचार