विगतदेखि वर्तमानसम्म पटक पटक ढाँटिदै आएका नेपाली जनता

हामीले हाइस्कुल पढ्दा पञ्चायती शासन काल थियो । त्यस बेला हामीलाई ‘नेताहरू दलगत स्वार्थमा लागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेकोले श्री ५ महेन्द्रबाट ०१७ साल पौष १ गते को कदम चाली देशको माटो सुहाउँदो पञ्चायती व्यवस्थाको प्रादुर्भाव गरिबक्यो’ भन्ने पढाइयो । त्यसताका ५० पूर्णाङ्कको ‘पञ्चायत’ नामको एउटा विषय नै पढ्नुपथ्र्यो, पढ्यौं । त्यसमा दलीय व्यवस्था असफल हुनुका थुप्रै उदाहरणहरू पेश गरिएका थिए । पत्यायौं मात्र होइन, त्यही घोकेर पास गर्यौं पनि ।

लाग्थ्यो– राजा भनेका राजा नै रहेछन् । राजालाई जति देशको माया नेतालाई नहुँदोरहेछ, त्यसैले नेताहरूले केही गडबडी गरे भने राजाले ठीक लगाउने रहेछन् । राजा भनेका देशका अभिभावक रहेछन् । त्यही विश्वासमा हामी प्रत्येक वर्ष पौष १ गतेका दिन ‘पञ्चायती व्यववस्था– जिन्दावाद’ भन्ने नारा घन्काउँदै गाउँ पञ्चायतको कार्यालय जान्थ्यौं । राजाको फोटोमा माल्यार्पण गरेपछि लामा लामा भाषण हुन्थे । नबुझे पनि सुन्थ्यौं । कतिले के के पुरस्कार पनि पाउँथे । हामी फगत ताली पड्काउँथ्यौं । कार्यक्रमपछि गलेर, थाकेर, भोकाएर घर पुग्दा पनि आफ्नै खालको रवाफ हुन्थ्यो । ठूलै काम पत्ते गरेर आएझैं लाग्थ्यो ।



२०४६ सालताका फरक किसिमको नारा लागे । मुलकमा विद्यमान एकदलीय पञ्चायती व्यवस्थाको विरोध गर्दै बहुदलीय व्यवस्थाका पक्षमा आवाजहरू मुखरित हुन थाले । भनियो– ‘एकदलीय व्यवस्थाले नागरिकलाई दाससरह बनायो, नागरिकको मौलिक हकमा प्रतिबन्ध लगायो, विकास अवरूद्ध भयो, जनताले दुःख पाए, देशमा मुठ्ठीभर व्यक्तिको हालीमुहाली चल्यो, राजाका कारण देशले दुःख पायो, जनताले तिरेको करको दुरुपयाग गर्दै दरबारले मोज गर्यो एकदलीय (निर्दलीय) पञ्चायती व्यवस्था नै देश विकासको बाधक हो’ आदिआदि । नेताहरूले भने, नेताले भनेका कुरा सत्य होला भनेर नेपाली जनताले फेरि पनि पत्यायौं र बहुदलीय पक्षधर नेताका पछि लाग्यौं ।

२०५२ सालदेखि माओवादीको सशस्त्र आन्दोलन आरम्भ भयो । भनियो– संसदीय व्यवस्था धोका हो, यस व्यवस्थाबाट कहिल्यै पनि वास्तविक गरिब, दुःखी, मजदुर र सीमान्तकृत वर्गको कल्याण हुन सक्तैन । सम्भ्रान्त र सुकिलामुकिला वर्ग सत्तामा रहुञ्जेल तल्लो वर्गको हित हुन सक्तैन । त्यसैले गरिब जनताका छोरा–छोरी शासन–सत्तामा नपुगी आमुल परिवर्तन सम्भव छैन । आम जनताको दीर्घकालीन मुक्ती र मुलुकमा आमुल परिवर्तनको लागि अब हतियार उठाउनुको विकल्प छैन । फेरि पनि हामीले पत्यायौं र हतियार उठायौं । हतियार उठाइसकेपछि मार्ने मर्ने खेल सुरु भयो । हजारौं नागरिकले ज्यान गुमाए, यो आशामा कि नेपाली जनताले अधिल्ला राजनीतिक परिवर्तनहरूमा जेजे पाउन सकेका थिएनन्, अब त्यो सबै प्राप्त गर्नेछन् । हामीले पाउन नसके पनि हाम्रा सन्तानले सुख पाउने छन् । मुलुकमा रहेका सबै प्रकारका विभेदको अन्त्य हुने छ ।

नभन्दै नेताहरूले भनेजस्तै भयो । २०६३ सालमा २५० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भयो । परिवर्तनको आशामा देशभरि खुसियाली मनाइयो, नेताहरूको अविर जात्रा भयो । हिजो आन्दोलनको नेतृत्व गर्ने जनताको छोरो देशको कार्यकारी भूमिकामा पुगे । मेचीदेखि महाकालीसम्मका सबै नेपालीहरू खुसीले गदगद हुँदै सोचे– अब देशमा विकासको मूल फुट्ने छ । अबरुद्ध भएको विकासले नयाँ गति पाउने छ । राज्यबाट गरिने सबै खालको विभेदको अन्त्य हुनेछ । आदिआदि।
तर…!

तर नेपाली जनतालाई देखाइएको सपनाको विपरीत काम हुन थाल्यो । परिवर्तनको सपना देखाइएका र बन्दुक बोक्न बाध्य बनाइएका गरिब, दुःखी, किसान र मजदुरहरू झन् झन् प्रताडित हुँदै गए । न उनीहरूले केही पाए, न उनीहरूको जीवनमा नै कुनै परिवर्तन आयो । बरू नेताहरूबाट नै कहिले जातिका नाममा, कहिले धर्मका नाममा र कहिले सुकिलामुकिलाका नाममा मिलेर बसेको समाज र सामाजिक सद्भावलाई भत्काउने–बिथोल्ने काम भयो ।

हो, हरेक व्यवस्था परिवर्तन हुँदा हवाइचप्पल लगाएर सिंहदरबार छिर्ने केही मुठ्ठीभर नेताहरू र उनीहरूका आसेपासेहरूको जीवनमा भने आमूल परिवर्तन आयो तर बाँकी सबैका लागि परिवर्तन ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ सावित भयो ।

नेपाली जनतालाई कहिले एकदलीय व्यवस्थाका नेताले ढाँटे, कहिले बहुदलवादी नेताले ढाँटे र कहिले गणतन्त्रवादी नेताले ढाँटे । सबै मिलेर निरीह नेपाली जनतालाई पटक पटक ढाँटे । ढाँट्नु नेपाली संस्कार नै बनिसकेकोले नेताहरू अझै पनि ढाँट्तैछन् । आफू नाङ्गै भएर अर्कोलाई कुरीकुरी भन्दैछन् । फेरि पनि नेपाली जनताले पत्याइदिनुपर्ने रे !

जनताको ठूलो बलिदानीबाट प्राप्त बहुदलीय प्रजातन्त्रदेखि अहिलेको गणतन्त्रसम्म कोइराला, देउवा, दाहाल, भट्टराई, ओलीलगायतका क्रान्तिकारी छवि भएका नेताहरूले आलोपालो शासन गरे तर उनीहरूले राणाकालमा बनेको सिंहदरबारका भित्तामा फोटो झुण्ड्याउने कामबाहेक जनताका लागि गर्व गर्न लायक केही गरेनन् । हिजो जनतालाई बाँडेको सपनाहरू पूरा गर्ने सवालमा माखो पनि मार्न सकेनन् ।

भन्ने गरिन्थ्यो– राजामहाराजाहरूले दुःख बुझेका हुँदैनन्, त्यसैले उनीहरू गरिब, दुःखी तथा मजदुर वर्गको वास्तविक भोगाइ र पीडाका बारेमा अनभिज्ञ हुन्छन् । जनताको छोरो(छोरी सत्तामा पुगेपछि मात्र आम जनताका सपनाहरू वास्तविक रूपमा पूरा हुन्छन् । सबै प्रकारका विभेदको अन्त्य हुन्छ । अनि मात्र जनताले चाहेका सबै कुरा पूरा हुन्छन् । तर नेपाली जनताले प्रत्यक्ष रूपमा देखे– जनताको छोरो-छोरी सत्तामा पुगेपछि उनीहरू पहिलेका राजा–महाराजाभन्दा माथिका भए । भाषा मात्र होइन, उनीहरूको जीवन शैली नै बदलियो । भ्रष्टहरू, दलालहरू, कमिशनखोरहरू, लुटेराहरू आदि राज्यबाट संरक्षित भए । नेपाली जनताले जुन प्रवृत्तिका विरूद्धमा पटक पटक संघर्ष गरेका थिए, आज पनि तिनै प्रवृत्तिहरू भेष बदलेर नेपाली जनतालाई लुटिरहेका छन् । परिवर्तनले व्यक्ति बदले पनि शासकको मूल प्रवृत्ति बदल्न सकेन । फेरि पनि नेपाली जनताले अर्को संघर्ष गर्नुपर्ने स्थिति आयो ।

सत्ताको प्रत्यक्ष लाभबाट बञ्चित, कुर्सीको होडबाजीभन्दा टाढा रहेर आफ्नो सुती–खेती गर्ने आम नागरिकलाई पछिल्लो परिवर्तित व्यवस्थाले के दियो त रु अहँ, उनीहरूले केही पनि महसुस गर्न पाएनन् । उनीहरूले जनताको छोरो कार्यकारी भएपछिको परिवर्तनको प्रत्याभूति गर्न पाएनन् । उनीहरूले हिजो सूर्यबहादुर थापा वा मरिचमान सिंहहरू प्रधानमन्त्री हुँदा र अहिले शेरबहादुर देउवा, पुष्पकमल दाहाल वा खड्गप्रसाद ओलीहरू प्रधानमन्त्री हुँदा पनि केही तात्विक अन्तर पाएनन् । हिजो जनताहरूले जे जे कुरा प्राप्तिका लागि संघर्ष गरेका थिए, आज पनि उनीहरू त्यही त्यही कुरा प्राप्तिका लागि संघर्षरत छन् ।

हिजो उनीहरूले समयमा मल पाएनन्, उत्पादनको मूल्य र बजार पाएनन्, सुरक्षा पाएनन्, औषधि पाएनन्, शिक्षा पाएनन् र एउटा नागरिक हुनुको सम्मान पनि पाएनन् । आज पनि उनीहरूको स्थिति त्यही छ । त्यसो भए आम जनताका लागि राजत्रन्त्र र गणतन्त्रमा के फरक भयो र ?

सम्बन्धित समाचार