नेपालले जित्यो बंगलादेशविरुद्धको मैत्रीपूर्ण सिरिजको उपाधि

दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा बङ्गलादेशलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिजको उपाधि जितेको छ । आइतबार भएको खेलमा घरेलु टोली बङ्गलादेशलाई टाइब्रकेरमा ४–२ गोलअन्तरले पराजित गर्दै नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण सिरिजको उपाधि जितेको हो ।

बङ्गलादशेको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रङ्गशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि मैत्रीपूर्ण सिरिजको निर्णय टाइब्रेकरमा गरिएको थियो ।



टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही र अनिता केसीले गोल गरिन् भने अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो । यता बंगलादेशको लागि साम्सुनार र मोनिका चक्माको प्रहारले गोल गर्दा मारिया मण्डा, सेइली अजिमले गोल गर्न सकेनन् ।

दुबैको प्रहार  नेपालकी गोलरक्षक अञ्जना रानामगरले रोकेकी थिइन् । नेपालले चीनको होङझाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताको तयारीस्वरूप पनि उक्त मैत्रीपूर्ण खेल खेलको हो ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । नेपाल र बंगलादेशको दुवै मैत्रीपूर्ण खेल फिफा मान्यता प्राप्त खेल हो  ।

सम्बन्धित समाचार