नवकान्तिपुर संवाददाता
काठमाडौं, १ साउन ।
श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बलियो राष्ट्र भारत ‘ए’ सँग खेल्दै छ । आज (सोमबार) नेपालले भारतसँग खेल्न लागेको हो ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजेबाट सुरु हुनेछ । नेपाल आज भारतलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात योजनाको साथ मैदान उत्रदै छ भने उता भारत पनि नेपाललाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनल पुग्ने सुरमा रहेको छ ।
नेपाललाई भारतविरुद्ध जित हात पर्न त्यति सहज भने हुनेछैन । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो भने भारतले युएई ‘ए’ लाई ८ विकेटले हराएको थियो । श्रीलंकामा असार २८ गतेदेखि साउन ७ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । समूहमा नेपाल सहित पाकिस्तान ‘ए’ , भारत ‘ए’ र युएई छन् भने समूह ‘बी’मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान रहेका छन् ।
आज आफ्नो दोस्रो खेल खेल्न लागेको नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेल साउन ३ गते युएईसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली टोली :
कप्तान रोहितकुमार पौडेल
कुशल भुर्तेल
आसिफ शेख
अर्जुन साउद
कुशल मल्ल
गुल्सन झा
सोमपाल कामी
भीम सार्की
देव खनाल
प्रतिश जिसी
ललित राजवंशी
किशोर महतो
श्याम ढकाल
सूर्य तामाङ
पवन शर्राफ र
सन्दिप जोरा