नेपालद्वारा युएई ३ विकेटले पराजित  

श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सान्त्वना जित हासिल गरेको छ । बुधबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई ३ विकेटले पराजित गर्दै सान्त्वना जित हासिल गरेको हो ।

श्रीलङ्काको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । युएईका लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५२ रनको अर्धशतकीय पारी खेले भने  इथान डी सोजाले १८, अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए ।नेपालका लागि कुशल भुर्तेल ६ विकेट लिए भने श्याम ढकालले २ विकेट लिँदा  कुशल मल्ल र पवन सर्राफको भागमा समान १-१ विकेट रह्यो । यसखेलसँगै नेपाल र युएइको ‘ए’ टोली प्रतियोगिताबाट बाहिरिएको छ ।



१६८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो  । नेपालका लागि कुशल भुर्तेलले  ४३ बलमा ९ चौका र चार छक्काको मद्दतमा ७१ रनको अर्धशतकीय पारी खेले भने देव खनाल र सन्दिप जोराले समान २४-२४ रन बनाए । त्यस्तै गुल्सन झाले ११ र बनाई आउट भए भने कप्तान रोहित पौडेलले ९ रन जोड्दा प्रतिश जिसि ८ र कुशल मल्ल २ रनमा अविजित रहे । युएईका मोहम्मद फाराजुदिन एक्लैले ५ विकेट लिए भने मुहम्मद जवादुल्लाहको भागमा २ विकेट रह्यो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो । यता युएई भने भारतसँग ८ र पाकिस्तानसँग १ ८४ रनले पराजित भएको थियो ।

यसअघि नै प्रतियोगिताबाट बाहिरिएसकेको दुवै टोलीको लागि आजको खेल प्रतिष्ठाको लडाई मात्रै थियो ।  जसमा नेपालले सान्त्वना जित हात पार्दा युएई जितबिहिन रुपमा प्रतियोगिता सकाएको छ ।

 

सम्बन्धित समाचार