पत्रपत्रिका
काठमाडौं, ५ साउन ।
राजस्व विभागले तस्करीको करिब सय किलो सुन बुधबार ‘अनौठो ढंगले’ बरामद गर्यो । हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत आएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारबाट पास भएपछि बरामद गरिएको थियो ।
विमानस्थल र भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर त्यति ठूलो परिणामको सुन कसरी बाहिरियो भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ । बाहिरबाट आउने सामान ओसार्ने र भन्सार पास गर्ने ठाउँमा आफ्नो उपस्थिति नहुने प्रहरीको भनाइ छ । भन्सारका कर्मचारीको संलग्नताबारे भने अनुसन्धान भइरहेको राजस्व विभाग र प्रहरीको भनाइ छ ।
तस्करले स्कुटरको ‘ब्रेक सु’ र दाह्री काटने मेसिनभित्र प्याकिङ गरेर सुन ल्याएका थिए । उक्त सुन जडित ‘ब्रेक सु’ को भन्सार जाँचपास गर्ने काम भन्सार अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल ड्युटीमा रहेको समयमा भएको अन्नपूर्णलाई उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार चन्द र ढकालले सुन जडित ‘ब्रेक सु’ को भन्सार जाँचपास बुधबार दिउँसो ४ बजेर ११ मा गरेका थिए ।
भन्सार जाँचपास सकेर ट्याक्सीमा लैजाँदै गर्दा सिनामंगल सडकबाट सुन बरामद गरिएको राजस्वको भनाइ छ । ‘ब्रेक सु’का नाममा सुन भित्र्याउने रेडी ट्रेड प्रालि आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा २०७९ चैत २१ गते दर्ता भएको थियो । रेडी ट्रेडर्स कम्पनी दिलिप भुजेलको नाममा दर्ता छ। भुजेल पक्राउ परिसकेका छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।