कविता : सपना

तन्द्रा हुँदामा सपना उदायो
तृष्णा न सुर्ता तर स्वप्न आयो ।
पुगेछु घुम्दै म कुनै सभामा
थिए बसेका मुनि त्यो थलामा ।।१।।

सोधे बताएँ परिवृत्त मेरो
नेपाल हो सुन्दर देश मेरो ।
विकास केही कहिले भएन
समृद्धिको लक्षण देखिएन ।।२।।



पाखा पखेरा मरु लाग्न थाले
टारी र बेँसी भरिए दुबोले ।
युवा विना फाँट गरा छ बाँझो
अनाज किन्ने जन गर्छ चाँजो ।।३।।

झर्ना नदीको जल जान्छ खेरो
बत्ती विना जीवन भो अँधेरो ।
अकाशखेती दुखिया किसान
कुलो विना खेत बने बिरान ।।४।।

नेता पठायौँ घुस मात्र खाए
किर्ना र जुम्रासरि ती अघाए ।
विकासप्रेमी जन देखिँदैन
गफाष्ट नेता कम एक छैन ।।५।।

उद्योग धन्दा सब बन्द पारी
यो राष्ट्र बेच्ने गरिँदै तयारी ।
छ उग्र नारा म विकासप्रेमी
तथापि लाग्ने सब देश द्रोही ।।६।।

रोएँ म धेरै अनि बर्बराएँ
पीडा बताएँ अति अश्रु झारेँ ।
म जान्नँ फर्कन्नँ म बस्न पाऊँ
छ शान्तिको वाग यहीँ रमाऊँ ।।७।।

सुन्दा विलौना मुनि जुर्मुराए
ठोकेर कन्धा अलि ढुक्क पारे ।
दया पलायो अनि अ‍ोठ खोले
म सुन्न थालेँ मुनि बोल्न थाले ।।८।।

नेपाल हो सुन्दर देश नानी
पुर्खाहरूको बलियो निशानी ।
युवा तिमी हौ बुझ विश्व जेता
बिहान डाक्ने युगका प्रणेता ।।८।।

खुट्टा कमाए कुन तर्छ खोला ?
अग्ला चुली चढ्न भयो अबेला ।
निराश बन्छौ किन आज भाइ
विकार फाली उठ जुर्मुराई ।।९।।

ढाडे बिराला घरभित्र पाली
बच्दैन नौनी घिउ दुग्ध छाली ।
मुसा कहाँ मार्छ सुतेर ढाडे
विकास आउन्न सबै नफाले ।।१०।।

पालेर साँढे हनुवा मिचाहा
गर्छौ तिमी गोरस खान चाहा ।
निकाल साँढे अनि पाल गाई
हुनेछ इच्छा परिपूर्ण भाइ ।।११।।

तिम्रा भुजाले हिम शैल बोक्छन्
आँधी हुरी कम्पन रोक्न सक्छन् ।
युवा तिमी कर्मठ राष्ट्र भक्त
बिहान डाक्ने प्रतिभा सशक्त ।।१२।।

आलस्य फाली अब निस्क भाइ
जत्था युवाको बलियो बनाई ।
कुना कुनामा पुग जोस ल्याई
चिराग बोकेर प्रयाण गाई ।।१३।।

माटो नदी जङ्गल शैलमाला
यो राष्ट्रका सुन्दरता निराला ।
अखण्ड यो राष्ट्र तिमी बचाऊ
विकास नौलो अविराम ल्याऊ ।।१४।।

धेरै बताए मुनि बोल्न छोडे
गर्दै इसारा घरमा पठाए ।
गएछ तन्द्रा अनि होस आयो
अचम्म लाग्यो सपना यही हो ।।१५।।
(उपजाति छन्द)

सम्बन्धित समाचार