त्रिवि उपकुलपतिले आफ्नो अभिव्यक्ति नसच्याए कडा कदम चाल्ने प्राध्यापक संघको चेतावनी

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. धर्मकान्त बाँस्कोटाले संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा विश्वविद्यालयका प्राध्यापकहरूमाथि लगाइएको लाञ्छनाप्रति नेपाल प्राध्यापक संघ तथा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो अभिव्यक्ति नसच्याए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति प्राडा. वसन्त ढकाल तथा नेपाल प्राध्यापक संघका अध्यक्ष प्राडा. रमेशकुमार जोशीको संयुक्त हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘श्रावण १९ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. धर्मकान्त बाँस्कोटाले संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा विश्वविद्यालयका प्राध्यापकहरूमाथि लगाइएको लाञ्छनाप्रति नेपाल प्राध्यापक संघ तथा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।



उपकुलपति जस्तो पदमा बसेको व्यक्तिले आफ्ना कमजोरीहरूलाई ढाकछोप गर्न अरूलाई दोष लगाउने र एउटा कुनै घटनालाई सामान्यीकरण गर्दै सम्पूर्ण प्राध्यापकहरूप्रति लगाएको आरोप गैरजिम्मेवार र निन्दनीय छ ।

आफ्नो विश्वविद्यालयमा कार्यरत कुशल कर्मचारी र प्राध्यापकहरूलाई आवश्यक हौसला प्रदान गर्ने र आफ्नो जिम्मेवारी वहन नगर्ने व्यक्तिलाई सत्यतथ्य पत्ता लगाई कारवाही गर्ने वैधानिक विधि अवलम्बन नगरी सम्पूर्ण प्राध्यापकहरूको मनोबल गिराउने गरी दिएको अभिव्यक्ति तुरून्त सच्याई पुनः सार्वजनिक धारणा सम्प्रेषण गर्न जोडदार माग गर्दछौं । अन्यथा नेपाल प्राध्यापक संघ तथा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ कठोर निर्णय लिन बाध्य हुने व्यहोरासमेत यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ ।’

विज्ञप्ति

विज्ञप्ति

 

सम्बन्धित समाचार