१०९ जनालाई पूर्ण छात्रवृत्ति : एउटा उदाहरणीय कार्य

सामाजिक संस्था वान पर्पोजले नागार्जुन नगरपालिका, वडा नं. ५ स्थित श्री जन उद्धार माध्यमिक विद्यालयका आमाबाबु नभएका, आर्थिक रूपले विपन्न तथा जेहेन्दार १०९ जना बालबालिकाहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति वापतको जिन्सी तथा नगद वान पर्पोजका अध्यक्ष अनु महर्जनले विद्यालयका प्रधानाध्यापक राजन न्यौपानेलाई श्रावण २३ गतेका दिन एक कार्यक्रमको आयोजना गरी प्रदान गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिका आसनमा नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत थिए भने विशेष अतिथिका रूपमा उक्त नगरपालिकाका प्रवक्ता एवम् वडाध्यक्ष महेश रिमाल रहेका थिए । कार्यक्रममा वान पर्पोजका पदाधिकारीहरू, स्थानीय जनता, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, समाजसेवी तथा स्वयम् सेवकहरूको बाक्लो उपस्थिति रहेको थियो ।



प्रमुख अतिथिको आसनबाट बोल्दै नगरप्रमुख बस्नेतले छात्रवृत्तिको पूर्ण सदुपयोग हुने प्रतिबद्धता व्यक्त गर्दै यस्तो कल्याणकारी छात्रवृत्ति प्रदान गर्ने सामाजिक संस्था वान पर्पोजलाई नगरपालिकाको तर्फबाट धन्यवाद पनि दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि रिमालले छात्रवृत्तिका लागि सही विद्यार्थी छनौट गरिएको जानकारी गराउँदै दातृ संस्थालाई आगामी दिनहरूमा छात्रवृत्तिको कोटालाई थप वृद्धि गरिदिन आग्रहसमेत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रअ राजन न्यौपानेले विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न यस प्रकारका छात्रवृत्तिको ठूलो भूमिका रहने भन्दै विद्यालयको तर्फबाट साधुवाद दिए । विद्यालयका सप्रअ तथा छात्रवृत्ति संयोजक राजु केसीले यस्ता किसिमका छात्रवृत्तिले आमाबाबु नभएका र कमजोर धरातल भएका विद्यार्थीले शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारबाट बञ्चित हुनु नपर्ने भएकोले छात्रवृत्ति प्रदान गर्ने दातृ संस्थाको सिङ्गो टिमलाई धन्यवाद दिए ।

दातृ संस्था वान पर्पोजका अध्यक्ष महर्जनले छात्रवृत्ति वितरण समारोह २०८० प्रभावकारी भएकोमा खुसी व्यक्त गर्दै उनले छात्रवृत्ति प्राप्त १०९ जना बालकालिकाको उज्ज्वल भविष्यको कामनासमेत् गरे ।

 

सम्बन्धित समाचार