‘क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौँ’

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने गुनासोको अन्त्य हुने बताए ।

रेडियो थेरापी (सेकाइ) गराउनुपर्दा पाँच महिनासम्म पालो कुर्नु परेको गुनासो आउने गरेका छन् । पौडेलले भने ‘अहिले दुई हप्ताभन्दा बढी रेडियो थेरापीमा पालो छैन । कतैबाट गलत सूचना गएर पाँच महिना लाग्छ भन्ने छ भने मलाई भेट्नु होस् म यसलाई न्यूनीकरण गर्नेछु ।’ अहिले कुर्नु परेको पालोको समय अन्त्य गरेर आजको आजै सेवा दिने गरी काम गर्ने बताए ।



अस्पतालमा सिटी, एमआरआइलगायतको सेवामा केही जनशक्ति अभावका कारण ढिलाइ हुने गरेको भन्दै उहाँले छिट्टै जनशक्तिको व्यवस्थापन गरेर पालो कुर्नु नपर्ने बनाइने बताए । उनले भने, ‘आएकै दिन सिटीस्क्यान गरेर भोलिपल्ट रिपोर्ट दिने बनाउनका लागि अगाडि बढेको छु ।’

बिरामी अस्पतालमा छिर्दै गर्दा गेटैबाट सुधार गर्नुपर्छ भनेर बडापत्र, बिरामीलाई सूचना दिन सूचना पार्टी, बिरामीका गुनासा सुन्न छ वटा सुझाव पेटिका व्यवस्था गरिसकेको उहाँले बताए । उनले भने, ‘सुझाव पेटिकामा अघिल्लो दिन परेका गुनासा भोलिपल्ट नै खोलेर हेर्ने र त्यहाँ के गुनासा छन् तत्काल समाधान गर्ने बाटोतर्फ हामी अघि बढेका छौँ ।’

विगत चार महिनामा अस्पतालमा नेतृत्व खाली रहँदैगर्दा विधिवत्रुपमा दैनिक क्रियाकलापमा केही अप्ठेरो परेको भन्दै उनले नेतृत्व चयन भएसँगै औषधि, उपकरणलगायतका बोलपत्र आह्वान गरेर काम अगाडि बढाइएको जानकारी दिए ।

क्यान्सर अस्पताललाई सुधार गर्नकै लागि आफू नेतृत्वमा आएको भन्दै उनले भने, ‘सुरुमा म क्यान्सर अस्पताललाई अपडेट गर्छु, स्वास्थ्य सेवाका पाटालाई विशेष ग्राहयता दिएर भएका न्यूनतम गुणस्तर पूर्ण भइसकेपछि अस्पताललाई स्तरोन्नति गर्नेतर्फ म लाग्ने छु ।’

क्यान्सर अस्पताल र क्यान्सरको राष्ट्रिय रेफरल सेन्टर भएर पनि बोनम्यारो ट्रान्सप्लान्ट (प्रत्यारोपण) को सेवा यहाँ नभएको भन्दै कार्यकारी निर्देशक डा पौडेलले भने, ‘हामीले डेढ दुई वर्षभित्र यो अस्पतालमा बोनम्यारो प्रत्यारोपण हुने गरी काम गर्छौं ।’

पेट स्क्यान मेसिन खरिदको प्रक्रिया यसै वर्ष हुने उनको भनाइ छ । उनले थपे, ‘यहाँ आएका बिरामीको उपचार सहज, सुलभ हुनुपर्छ, अस्पतालभित्रै हुनुपर्छ भन्ने नै मेरो उद्देश्य हो ।’

आफू निजी अस्पतालमा काम नगर्ने भएकाले अधिकांश समय अस्पतालको विकासमा जुट्ने उनले बताए । चार महिनापछि अस्पतालले कार्यकारी निर्देशक पाएको हो । लामो समय कार्यकारी पद खाली हुँदा अस्पतालका सेवा प्रभावित भएका थिए ।रासस

सम्बन्धित समाचार