एसियाड क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

चीनको झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको खेलमा  टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो । भारतका लागि यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्काको मद्दतमा १०० रन बनाए भने रिंकु सिंह ३७ र शिवम दुबे २५ रनमा अविजित रहे । यस्तै कप्तान ऋतुराज गायकवाडले २५ रन जोडे । पहिलो विकेटका लागि यशस्वी र ऋतुराजले १०३ रनको शतकीय साझेदारी गरेका थिए ।



एसियाड क्रिकेट

नेपालको लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीको भागमा समान १-१ विकेट रह्यो । भारतले दिएको २०३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो । यद्यपि भारतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ रन बनाए भने कुशल भुर्तेलले २८ रन जोडे । यस्तै कुशल मल्ल र सन्दीप जोराले समान २९-२९ रन बनाई आउट भए भने करण केसी १८ रनमा अविजित रहँदा आसिफ शेखले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्  ।

एसियाड क्रिकेट

भारतका लागि रवी बिस्नोई र अभेष खानले समान ३-३ विकेट लिए भने अर्शदीप सिंहले दुई विकेट लिँदा र साई किशोरको भागमा १ विकेट रह्यो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिर भएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

एसियाड क्रिकेट

एसियाड क्रिकेट

सम्बन्धित समाचार