सामाजिक रूपान्तरणमा युवाशक्तिको भूमिका

घडीको सुई आफ्नै चालमा घुमिरहन्छ । घडीको सुईले न कसैलाई चिन्छ न कसैको लागि रोकिन्छ नै । यो आफ्नै गतिमा निरन्तर चलिरहन्छ । घडीको सुई समयको प्रतीक हो, समयको गतिको द्योतक हो । निरन्तर चलिरहने घडीको सुईले क्षण क्षणमा बदलिरहने समयको गतिशीलतालाई सङ्केत गरिरहेको हुन्छ । समयको यस गतिशीलतालाई नबुझ्ने व्यक्ति होस् वा मुलुक, कहिल्यै अगाडि बढ्न सक्तैन ।

नेपालको विकासको गति र नेताहरूको चरित्रलाई हेर्दा लाग्छ यिनीहरूले समयको गति र यसको चापको मर्मलाई बुझ्न सकेकै छैनन् । न सिंहदरबारले समयको पदचापलाई चिन्न सक्यो न यहाँ बस्ने शासकहरूले नै । त्यसैले होला, पटक पटक व्यवस्था फेरियो, शासकहरूका फोटाहरू फेरिए तर जनताको अवस्था अलिकति पनि फेरिएन । जबसम्म नेतृत्वको विचार र नियतमा परिवर्तन हुँदैन तबसम्म भाषणको क्रान्तिले मात्र समाज रूपान्तरण सम्भव नहुँदोरहेछ । भाषणको क्रान्ति त केवल कागजको बाघ हो । यसले मुसो मार्न पनि सक्तैन ।



चुनावका बेला देशलाई सिंगापुर बनाउने सपना बाँड्नेहरू अहिले कोही सत्तासिन छन् भने कोही प्रतिपक्षमा । उनीहरूको चिन्तन आमजनताको अवस्था परिवर्तन गर्नलाईभन्दा अन्यत्र नै मोडिएको छ । जनता भोक, रोग, गरिबी र महङ्गीबाट त्राहिमाम छन् तर नेताहरू भने आफ्नो चरित्रलाई दाउमा राखेर अर्थोपार्जनमा जुटेका छन् । विकास–निर्माणका काममा वैचारिक बेमेल देखाए पनि अर्थोपार्जन गर्ने क्रममा भने सबै पार्टीहरू एकमत छन् । सबै मिलेर देशलाई दोहन गरिरहेका छन् । कसैले अर्को अमुक पार्टीभन्दा मेरो पार्टी प्रगतिशील छ, विकासप्रेमी छ भन्नुचाहिँ लम्पट कार्यकर्ताको गुरुभक्ति मात्र हो । अनुहारमा लागेको दाग मेट्न ऐना पुछेको जस्तै हो । जनताले सबै पार्टीको तमासा देखिसकेका छन् ।

नेताहरू अभिनेताहरूजस्तो भएपछि देशभित्रै केही गरौं भन्ने सोच बनाएका युवाहरू नचाहेर पनि विदेशिन बाध्य बनेका छन् । जोजसले हिजो गणतन्त्रका लागि लडेका थिए, विडम्बना मान्नु पर्छ, आज उनीहरू भोकका विरुद्ध लड्न बाध्य छन् । सत्तासिन नेताहरूको भाषणमा मुलुकमा समृद्धि आइसक्यो तर युवाहरू भने सामान्य दैनिकी टार्न नसकेर बाध्य भएर विदेसिँदै छन् । गणतान्त्रिक नेपालको वास्तविक तस्वीर देखिने एउटा ठाउँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । देशको भाग्य र भविष्य कोर्न सामथ्र्य राख्न सक्ने युवाहरू मात्रृभूमिबाट निराश भएर दैनिक हजारौंको सङ्ख्यामा खाडी मुलुक भासिँदैछन् । सरकार भने रेमिट्यान्स बढ्ने प्रलोभनमा विदेशिने युवाको सङ्ख्या गनेर बसेको छ ।

अर्को एउटा वर्ग छ, जो प्लस टु गरिसकेपछि उच्च अध्ययनका नाममा विदेसिएको छ वा विदेसिने सपना पालेर बसेको छ । उनीहरू पनि अध्ययनलाई बाहना बनाएर रोजगारीका लागि विदेसिँदैछ । उनीहरू पनि नेताको बोली र गराइबाट निराश छन्, आफ्नो भोगाइबाट निराश छन्, भ्रष्टाचारको समाचार सुनेर वा पढेर निराश छन् र समग्रमा मात्रृभूमिको भविष्यबाट पनि निराश छन् । उनीहरू आफ्नो निराशालाई बदल्न बाहिर जान चाहन्छन् । राहदानीको लागि लागेको युवाहरूको लामो लाइन केवल निराशाको अभिव्यक्ति हो भन्दा अतिशयोक्ति नहोला ।

आलोपालो मुलुकको सत्तामा पुगेका काङ्ग्रेस, एमाले, माओवादी पार्टीहरूले युवालाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमा नै पूर्वाधारको विकास गरिसक्नुपथ्र्यो, गरेनन् । समग्र देशको विकासको लागि आवश्यकतालाई प्राथमीकरण गरेर विज्ञहरूको सुझाव र सल्लाहमा पूर्वाधारको रेखाङ्कन कोरिसक्नुपथ्र्यो तर जनहितमा केही भएन । सरकारमा संलग्न र उच्च पदस्थ व्यक्तिहरू नेपालीलाई नक्कली भुटानी बनाउनमा, ललिता निवासको जग्गा आफन्तको नाममा दर्ता गराउनमा, सुनका दलालहरूसँग मिलेर राजश्व झ्वाम पार्ने काममा व्यस्त भएपछि देश विकासका कुरा प्राथमिकतामा नै परेनन् ।

सचेत र सक्षम युवाले पनि आफ्नो योग्यता र क्षमतालाई प्रस्तुत गर्न सक्नुपथ्र्यो तर युवाले त्यसो गर्न सकेनन् वा गर्न चाहेनन् । परम्परागत राजनीतिक पार्टीहरूबाट अहिलेको नेपालको आशा र आवश्यकतालाई सम्बोधन हुन सक्तैन भन्ने ठानेपछि ‘अब युवाहरूले नै नेतृत्व गरेर देशलाई सही मानेमा रूपान्तरण गर्नुपर्छ’ भनेर सशक्त रूपमा आफूलाई प्रस्तुत गर्न सक्नुपथ्र्यो, सकेनन् । पार्टीमा रहेका युवाहरू नेतृत्वका विरूद्धमा बोल्न डराए र पार्टीबाहिर रहेका युवाहरूले पलायनको बाटो रोजेपछि परम्परागत शक्तिलाई झन सजिलो भइदियो । युवाहरूले अबको नेपालको सपना र सम्भावनाको रोडम्याप दिन सक्नुपथ्र्यो, फ्रन्ट लाइनमा आएर आम नेपालीको आशा र आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गर्नुपथ्र्यो तर युवाहरूमा पनि त्यस किसिमको मनोबल देखिएन । इच्छा राखेर मात्र परिवर्तन सम्भव हुँदैन । यस तथ्यलाई युवाहरूले पनि मनन् गर्न सक्नुपर्छ । दुई चारजनाले चिया पसलमा बसेर चिया गफ गरेकै भरमा रूपान्तरण सम्भव हुने कुरै भएन ।

गणतन्त्रले धेरै नेता जन्मायो, गाउँ गाउँमा राजा जन्मायो तर असल नेतृत्व जन्माउन सकेन, नेपालको गौरवमय इतिहास फर्काउन सकेन । यो स्थिति नै नेपालको विडम्बना बन्यो । प्रतक्ष्य रूपमा राष्ट्रिताका कुरा गर्ने तर परोक्ष रूपमा सत्ता र शक्तिका लागि विदेशीसामु घुँडा टेक्न पछि नपर्ने शीर्ष नेताहरूलाई सिर्जनशील युवाहरूले विस्थापित नगर्ने हो भने अबको ८–१० वर्षमा नेपाल बृद्धाश्रममा परिणत हुने छ । नेपालमा जन्ती र मलामीको अभाव हुने छ । बेथिति र भ्रष्टाचारले संस्थागत रूप धारण गर्दा सुनको त के कुरा, नुन पनि किनेर खान नसकिने अवस्था सिर्जना हुनेछ ।

त्यसैले नेपाललाई बृद्धाश्रम हुनबाट जोगाउने हो भने, मुलुकमा विधिको शासन लागु गर्ने हो भने, भ्रष्टाचारीलाई राज्यको अपराधी मानेर दण्डित गर्ने हो भने र समाजमा सामाजिक सद्भाव र भाइचाराको विकास गर्ने हो भने सक्षम र दूरदृष्टि भएका युवाहरूले नै अबको मुलुकको अगुवाइ गर्नु पर्दछ । गतिशील युवाविहीन देश मेरुदण्डविहीन मानिसजस्तै हुन्छ । मेरुदण्डविनाको मानिस पनि आकारमा त सबल मानिस जस्तै देखिएला तर उसलाई उठ्न पनि अरूको सहारा चाहिन्छ । त्यस्ता सापे प्रकृतिका नेताहरूबाट अझै पनि समृद्ध नेपालको परिकल्पना गर्दछौं भने आउने पचास वर्ष पनि नेपालमा अनुभूति हुने खालको परिवर्तन सम्भव देखिँदैन ।

 

 

 

 

 

सम्बन्धित समाचार