नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असोज ।
चितवन, भरतपुर महानगरपालिका-७ बस्ने मन कुमारी वाग्लेको हत्या गरी फरार रहेका सोही महानगरपालिका-२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईलाई साधुको भेषमा मन्दिरबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नातामा नाती पर्ने चापागाईले २०६१ मंसिर १४ गते मन कुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या पश्चात कानमा लगाएको गरगहना समेत लुटी फरार भएका थिए ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नवलपरासी पश्चिम वर्दघाट नगरपालिका-४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रुपमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।