नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । भक्तपुर, भक्तपुर नगरपालिका-१ नगरकोटमा बा.६९प ९१० नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ सल्लाघारी बस्ने ६८ वर्षीया भुलिमाया धुगुछुको बिहीबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको डा.ईवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै दाङ, राप्ती गाउँपालिका-१ भालुबाङ बजारस्थित सडकमा ना.७ ख ५९७१ नम्बरको बसले लु.९२ प ७५७४ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने कपिलबस्तु बाणगंगा नगरपालिका-४ जितपुर घर भएका २३ वर्षीय बिजय खनालको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रस्तावित भालुबाङ अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता झापा, बिर्तामोड नगरपालिका-१ कन्चनजङ्गा अस्पताल अगाडि सडकमा ना.४ ख २०८३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री दोलखा कालिन्चोक गाउँपालिका-५ बस्ने ५१ वर्षीया देवी माया थामीको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै रूपन्देही, देवदह नगरपालिका-६ सटक खोलास्थित सडकमा लु.२२ प ३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ सटक खोला बस्ने १८ वर्षीय मनोज मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता सप्तरी, कन्चनरूप नगरपालिका-२ बरमझियास्थित सडकमा प्र.२-०३- ००१ ख १०१० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने राज कुमार गुप्ताको छोरा ७ वर्षीय योगेन्द्र गुप्ताको बुधबार मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।