नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती किशोरीलाई सोही नगरपालिका-३ गोदानास्थित घरमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो । साथै पीडितलाई ललाई फकाई गर्ने ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बस्ने २९ वर्षीय अतल बहादुर थारूलाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
त्यस्तै ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुस्ताङ, लोमान्थाङ गाउँपालिका-३ बस्ने २६ वर्षीय जप्याङ गुरूङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । गुरूङले ती बालिकालाई थासाङ गाउँपालिका-२ स्थित विद्यालयको कक्षाकोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लोमान्थाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।