‘मेडिकल स्कर्टिङ’ गरी घाइते पाइलट सेढाईंको थप उपचारका लागि भारत लगियो

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेढाईंलाई उनको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ ।



उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि–हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी,  डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलिजंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरेका थिए ।

श्री एअरलाइन्सका प्रवक्ता एवं कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार चार्टर्ड जहाज शनिबार बेलुकी ९ः२० बजे मुम्बईको लागि उडेको थियो ।

आइतबार बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई  एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरी बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी इन्चार्ज डा. निशान्त ढकालले जानकारी दिए ।

शनिबार बिहान लुक्लाबाट लोबुचे ( सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार