आज बडादशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै

आज बडादशैंको दोस्रो दिन, देशभरका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै छ। शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आइतबार आश्विन शुक्ल प्रतिपदाका दिन बिहान घटस्थापना गरी दशैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि नेपालीको महान् पर्व बडा दशैं सुरु भएको हो ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। यो १५ दिनको समयलाई दुर्गा पा पनि भनिन्छ । पूजा कोठा वा दशैं घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ । दुर्गा पक्षको दोस्रो दिन आज ब्रह्मचारिणी नाममा दूर्गा पुजा गरिन्छ । पहिलो दिन शैलपुत्रीको आह्वानसहित विशेष पूजा गरिएको थियो । तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौंं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।



आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड समेत लाग्नेछ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

सम्बन्धित समाचार