दुर्गा भवानीले नेपाली जनतालाई आसुरी शक्तिबाट देशलाई मुक्ति दिलाउने प्रेरणा र क्षमता प्रदान गरून्

नेपालको ईतिहासमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीहरूको राजनीतिक कुशासन र अस्तव्यस्ततापछि नेपालको शासनसत्ता तत्कालीन राजा ज्ञानेन्द्रको हातमा पुग्यो । अनि, जनताबाट निर्वाचित र अनुमोदित सरकार र संसद बिघटन गर्दै राजा ज्ञानेन्द्रले सेनाको साथ र समर्थनमा सत्ताको बागडोर आफ्नो हातमा लिनपुगे । यस घटनापछि राजाको हातबाट शासन सत्ता जनताको हातमा ल्याउन नेपाली जनताले ठूलो त्याग र तपश्या गर्नुपर्यो । माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमाले पार्टीका नेताहरूको संयुक्त आन्दोलन र नेपाली जनताको बलिदानीबाट आजको परिवर्तन सम्भव भएको हो । पहिले नेताहरूले बाटो नबिराएका भए र जनआन्दोलनताका नेताहरूले बाटो बिराएको भए व्यवस्था परिवर्तनका लागि गरिएको जनताको बलिदानी त्यस्सै खेरजान सक्थ्यो ।

राजाका हातबाट जनताको हातमा शासनसत्ता ल्याउन अहम् भूमिका निर्वाह गर्ने नेताहरू र टाउकाको मोल तोकिँदासमेत निडर भएर आन्दोलनमा होमिएका नेताहरू अहिले सत्ता र शक्ति प्राप्तिका लागि दिग्भ्रमित भएको देख्ता र हिजोका राजाहरूको भन्दा पनि यिनीहरूले महाराजाको अहङ्कार पालेर हिँडेको देख्ता भने नेपाली जनता आश्चर्यमा परेका छन् । अनि, सबैका मनमा एउटै प्रश्न उठ्छ– के आजको यही दिन देख्नका लागि १७ हजार नेपालीले बलिदानी दिएका थिए त ?



निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध जनताले गरेको लामो र निर्णयक आन्दोलनको परिणामस्वरूप आजको राजनैतिक उपलब्धि सम्भव भएको हो । पञ्चायती व्यवस्थाबाट कथित् प्रजातन्त्रको बाटो हुँदै गणतन्त्रात्मक नेपालको यात्रा सहज थिएन । नेताहरूले किञ्चित बाटो बिराएको भए देश नयाँ सङ्कटमा प्रवेश गर्न सक्थ्यो । त्यस्तो सुझबुझ र एकता प्रदर्शन गरेका शीर्ष नेताहरूले अहिले आएर आफ्नो स्वार्थका लागि देशलाई नै दाउमा लगाएको देख्ता भने नेपाली जनता आफ्नै नेताहरूका गतिविधिलाई आशङ्काको दृष्टिले हेर्न थालेका छन् । यो आशङ्का गर्ने सुविधा पनि शीर्ष नेताहरूले नै बनाइदिएका हुन् ।

जनविश्वासविपरीत गतिविधि र पटक पटक अवसर पाउँदासमेत उल्लेखनीय काम गर्न नसक्ने, भ्रष्टाचार र बेथितिका नाइके नेताहरूको गतिविधिबाट अहिले सिङ्गो देश प्रताडित छ । यिनीहरूले आन्दोलन गर्न र विरोध गर्न जाने तर सुशासन गर्न भने जानेनन् र सिक्न पनि चाहेनन् । सुशासन कायम गरेर मुलुकलाई समृद्धिको शिखरमा पुर्याउन भगीरथ प्रयास गर्नु पर्नेमा यिनीहरू त देशको ढुकुटी रित्याउने खेलमा रमाउन थाले । भ्रष्टाचार गर्न र जसरी पनि पैसा कुम्ल्याउनु पर्छ भन्ने मानसिकताबाट परिचालित भए । नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, क्विन्टल सुन काण्ड, वाइड बडी काण्ड, ओम्नी काण्ड, यती काण्ड, गिरीबन्धु टी इस्टेट काण्ड आदि काण्डहरू विकृत सोचका परिणाम्हरू होइनन् र ?

काङ्ग्रेस, एमाले र माओवादी पार्टीका शीर्ष नेताहरूले देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर काम गरेको भए प्रजातन्त्र र लोकतन्त्र प्राप्तिपछिका यी दिनहरूमा मुलुकले विकास र समृद्धिले काँचुली फेरिसक्थ्यो होला । देउवा, ओली, दाहाल, नेपाल, खनाल, भट्टराई आदिलाई जनताले आदर्श पात्रका रूपमा हेर्थे होलान् र आफ्ना छोरा नातिलाई दशैंको टीका लगाइदिँदै गर्दा उनीहरूजस्तै महान् हुने आशीर्वाद प्रदान गर्थे होलान् । तर शीर्ष भनाउँदा नेताहरू त कसैका दलालजस्ता भएर निस्किए । दुर्गा प्रसाईले सामाजिक सञ्जालमार्फत् भनेका कुरा सही हुन् भने त हाम्रा ‘महान्’ नेताहरूलाई श्रीलङ्काबाट राजपाक्षे परिवारलाई खेदेजस्तै वा फसल नष्ट गरिदिने साँढे गोरुलाई किसानले पुल्ठो बालेर खेदेजस्तै खेद्ने दिन नआउला भन्न सकिन्न ।

सत्ताको बागडोर सँभाल्ने अवसर पाएका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले आफ्नो शासन कालमा देश र जनताको हितका लागि कुनै उल्लेखनीय काम गर्न सकेनन् । यिनीहरूसँग देश बनाउने भिजन नै थिएन रहेछ । यिनीहरूसँग जे क्षमता थियो त्यही गरे र आफ्नो शासन कालमा विभिन्न काण्डहरू मच्चाउन सफल भए । त्यसैले नेपाली जनताले दाहाल, देउवा, ओली, नेपाल र भट्टराई आदिलाई संयुक्त रूपमा ‘काण्डशिरोमणि’ को उपाधिले सुशोभित गर्ने हो भने यिनीहरूले आफ्नो समयोचित सम्मान भएको अनुभूति गर्थे होलान् । त्यो दिन पनि नआउला भन्न सकिन्न ।

दशैंको मुखमा पनि युवाहरू रुन्चे अनुहार लगाएर विदेशिन बाध्य छन् । एयरपोर्टमा विदेशिने युवाहरूको लामो लाइन देखेर पनि नेताको मन रुँदैन । उनीहरूका आँखाहरूले त युवालाई रेमिट्यान्सको पोकाको रूपमा देखेका हुन सक्छन् । देशमा मौलाइरहेको बेथिति देखेर पनि यिनीहरूको मन पग्लिएको छैन, किनकि उनीहरू यस्तै धमिलो पानीमा माछा मार्न पल्केका छन् । हामी नेपालीहरूको दुर्भाग्य के भने हामीले नेता होइन, अभिनेता मात्र पाएछौं । अनि दलीय राजनीतिका नाममा विभिन्न अनुहारमा आसुरी शक्तिले मौलाउँदै जाने अवसर पाएछ । दुर्गा भवानीले नेपाली जनतालाई यस आसुरी शक्तिबाट देशलाई मुक्ति दिलाउने प्रेरणा र क्षमता प्रदान गरून्; सबैमा बडादशैंको शुभकामना !

सम्बन्धित समाचार