टि-२० विश्वकप एसिया छनोट  : नेपाल ओमानसँग पाँच रनले पराजित 

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा   

काठमाडौँमा जारी आइसिसी टि-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको हो  ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । ओमानको लागि कप्तान जेशन मक्सुदले ३२ रन बनाए भने नसीम खुशीले २५ रन जोड्दा प्रतिक अथाभालेले २४ रन बनाए । त्यस्तै शकिल अहमद २२ रनमा अविजित रहँदा आयन खानले १८ रन जोडे ।



नेपालको लागि करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले  समान २-२ विकेट लिँदा अभिनाश बोहोरा र गुलसन झाको भागमा समान १-१ विकेट रह्यो ।१४६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा समेटियो ।

नेपालका लागि विवेकले २४ बलमा ३९ रन बनाए भने नेपालका लागि कुशल भुर्तेलले २६ रन जोडे । त्यस्तै करण केसीले १५ रन बनाई आउट भए भने सेमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२-१२ जोड्दा  कुशल मल्लले १० रन बनाए । ओमानका लागि बिलाल खानले ३ विकेट लिए भने, शकिल अहमद, मेहरान खान र अकिब इल्यासको भागमा समान २ विकेट रहँदा जिशन मक्सुदको भागमा एक विकेट रह्यो ।

हारका बाबजुद नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने ओमान समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ ।  त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यहिँ कार्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ ।

नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।

सम्बन्धित समाचार