नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ कार्तिक ।
संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी टी-२० विश्वकपमा छनोट भएको छ । शुक्रबार भएको टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई पराजित गर्दै नेपाल टी-२० विश्वकपमा छनोट भएको हो ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३४ रन बनायो । युएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए भने कप्तान मोहम्मद वासिमले २६ रन बनाए । त्यस्तै आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अनाक्मा रन जोड्न सकेनन् ।
नेपालका लागि कुशल मल्लले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिंदा सोमपाल कामी र राहित पौडेलको भागमा समान १-१ विकेट रह्यो । युएईले दिएको १३५ रनका लक्ष्य लिएर मैदान उत्रेको नेपालले १७ दशमलव एक ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । नेपालको लागि आशिफ सेखले ५१ बलमा दुई छक्का र छ चौकाको सहयोगमा अविजित रहँदै ६४ रनअर्धशतकीय पारी खेले कप्तान रोहित पौडेलले ३५ रनमा अविजित रहँदा गुलशन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए । यूएईका लागि निलान्स केस्वानी र बसिल हमिदले समान १-१ विकेट लिए ।
नेपाल समूह ‘ए’ बाट उपविजेता र युएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेट र मलेसियालाई छ विकेटले पराजित गरेको थियो ।
टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । नेपालले दोस्रो पटक टी -२० विश्वकप खेल्ने अवसर पाएको हो । यसअघि नेपालले सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो । शुक्रबारै भएको पहिलो सेमिफाइलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको छ । आइतबार हुने फाइनलमा नेपाल र ओमान भिड्नेछन् ।