नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कार्तिक ।
भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड विजयी भएको छ । बिहीबार भएको खेलमा साबिक उपविजेता न्युजिल्यान्डले श्रीलंकालाई ५ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावनालाई जिवितै राखेको छ ।
जारी प्रतियोगितामा न्युजिल्यान्डको यो पाँचौं जित हो भने श्रीलंकाको सातौं हार । बेङ्लोरस्थित एम चिन्नास्वामी रंगशालामा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलंका ४६.४ ओभरमा अल आउट हुँदै १७१ रनमा समेटिएको थियो । श्रीलंकाका लागि कुशल परेराले ५१ रनको अर्धशतकीय पारी खेले भने महेश तिक्क्षणा ३९ रनमा अविजित रहे । त्यस्तै धनन्जय डि सिल्भा र दिल्सान मदुसंकाले समान १९-१९ रन बनाई आउट भए भने एन्जेलो म्याथ्युजले १६ रन जोडे ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिए भने लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान २-२ विकेट लिँदा टिम साउथीको भागमा एक विकेट रह्यो । १७२ रनको लक्ष्य लिएर मैदान उत्रेको न्युजिल्यान्डले २३.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका लागि डिभोन कोन्भेले ४५ रन बनाए भने ड्यारिल मिचेलले ४३ रन जोडे । यस्तै रचिन रविन्द्रले ४२ रन जोड्दा ग्लेन फिलिप्स १७ रनमा अविजित रहे ।
श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले २ विकेट लिए भने महेश तिक्क्षणा र दुस्मन्था चमिराको भागमा समान १-१ विकेट रह्यो । जितसँगै न्युजिल्यान्ड ९ खेलमा ५ जित र ४ हारसहित १० अंक जोड्दै तालिकाको चौथो स्थानमा छ भने समान खेलमा २ जित र ७ हारसहित ४ अंक जोडेको श्रीलंका नवौं स्थान रहेको छ ।