छल–कपट, भ्रम र बेइमानीको आयु लामो हुँदैन

‘नेता धनी भए भने देश टाट पल्टिन्छ’ भनिन्छ । नेपालको सन्दर्भमा यो भनाइ ठ्याक्र्कै मिलेको छ । नेपालका नेताहरू कुनै निरङ्कुश तानाशाहभन्दा कुनै कुरामा पनि कम देखिँदैनन् । अत्यन्त सामान्य अवस्थामा ०६२-६३ ताका उदाएका नेताहरू रातारात अरबपति बनेका छन् । उनीहरूको जीवन शैली पनि कुनै तानाशाहको भन्दा कम छैन । तिलस्मी ढङ्गले यति छिटै यत्रो वैभव कसरी सम्भव भयो भनेर सोध्ने अधिकार सार्वभौम भनिएका जनतासँग छ कि छैन ? विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा ज्यानको बाजी लगाएर सडकमा उत्रने जनताको आर्थिक–सामाजिक अवस्था भने झन झन बिग्रँदै जाने अनि उनीहरूलाई सिँडी बनाएर सत्ता र शक्तिमा पुग्नेहरूचाहिँ नव धनाड्य बन्दै जाने कुरा कसरी सम्भव हुन्छ ? यो वैभव भ्रष्टाचार नगरी वा भ्रष्टहरूको मिलीभगत विना कसरी सम्भव हुन्छ ?

समयले नेताहरूको काला कर्ममाथि प्रश्न नउठाएको होइन तर नेताहरूले आफूमाथि लागेका आरोपहरूको चित्तबुझ्दो जवाफ दिनुको साटो कोही चुइँक्क नबोलेरै जित्ने प्रयत्न गर्दैछन् भने कोही बढी बोलेर । यी दुबै प्रकृतिका पात्रहरू मुलुकका कलङ्क हुन् । यिनीहरू सत्ता र शक्तिमा रहुञ्नेल मुलुकको समृद्धि र जनताको अवस्था परिवर्तनको कुरा कहिल्यै सम्भव हुने छैन भनेर ठुक्क मान्दा हुन्छ ।



पटक पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा, खड्गप्रसाद ओली, पुष्पकमल दाहालहरूबाट देशले काँचुली फेर्न सक्छ भनेर अझै पनि अपेक्षा गर्नु भनेको गोरुगाडामा चढेर चन्द्रलोकको शयर गर्ने अपेक्षा गर्नुजस्तै मात्र हो । यसै कोटीमा माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईहरू पनि पर्दछन् ।

यिनीहरूले आफ्नो कार्यकालमा सुशासन कायम गर्न नसकेको मात्र होइन, भ्रष्टाचारलाई संस्थागत गरेको, राष्ट्रको ढुकुटीको दुरुपयोग गरेको, सार्वभौम जनतालाई पटक पटक ढाँटेको, नातावाद र कृपावादमा चुर्लम्म डुबेको, शासन विधि र पद्दतिले भन्दा सनकका भरमा चलाएको र सत्ताको मातमा आफूलाई मुलुकको मठाधीश ठानेर संविधानकै धज्जी उडाउने आदि कार्य गरेको हुनाले यिनीहरू देशको कार्यकारी पदका लागि सर्वथा अयोग्य मात्र होइन सजायका भागीदार पात्र पनि हुन् । यस मुलुकलाई अधोगतिमा लान र लोकतान्त्रिक गणतन्त्रप्रति वितृष्णा पैदा गराउन यिनीहरूकै हठ र अकर्मण्यता जिम्मेवार छ ।

नेतृत्व खराब भएपछि व्यवस्था आरोपित हुन्छ, अहिले भएको यही हो । व्यवस्थाका रूपमा लोकतान्त्रिक गणतन्त्र उत्कृष्ठ व्यवस्था भएपनि पार्टी र पार्टी नेतृत्वले गलत बाटो अङ्गिकार गर्दा व्यवस्थामाथि नै प्रश्नहरू उठेका हुन् । यति छोटो समयमा नै लोकतान्त्रिक व्यवस्थाको विकल्प खोज्ने उपक्रम हुनुमा नेतृत्व नै दोषी छ । लोकतान्त्रिक गणतन्त्रलाई जनकल्याण र मुलुकको समृद्धिका लागि लगाएको भए अहिलेको अवस्था अर्कै हुने थियो । नेतृत्वका यस्तै कमीकमजोरीको चेपबाट दुर्गा प्रसाईहरू टुसाएका हुन् ।

दुर्गा प्रसाईसँग न पार्टी छ, न गन्तव्य छ, न भरपर्दो एजेण्डा छ, न मुलुकको समृद्धिको सुस्पष्ट खाका छ तैपनि उनको आव्हानमा प्रशासनले बाटो छेक्ताछेक्तै पनि काठमाडौंको चिसो खान हजारौं हजार मान्छे कहाँबाट आए र किन आए ? यो व्यवस्था र नेताहरूप्रतिको वितृष्णाको परिणाम् होइन ? ऐना पुछेर अनुहारको दाग मेट्ने दुस्प्रयास नगरे हुन्छ ।

आफूलाई परिवर्तनकारी शक्ति भन्न रूचाउनेहरूले आफूलाई मात्र परिवर्तन गरेको परिणाम्स्वरूप दुर्गा प्रसाईहरूका पछि मान्छेहरू लागेका हुन् । व्यवस्थाविरोधी नारा र पुराना नेताहरूले गरेको कुकर्मको फेहरिस्त सुनाउँदै यिनीहरूका विरुद्धमा धावा बोल्न दुर्गा प्रसाईका ठाउँमा रमेश प्रसाई वा महेश प्रसाई जो उभिएको भए पनि मानिसहरूले उसलाई यसरी नै साथ दिन्थे सायद ! किनकि जनतासँग अर्को विकल्प नै रहेन । कि त नेपाली जनताले आफूलाई परिवर्तनकारी भन्न रूचाउने नेताहरू मिलेर लोकतान्त्रिक गणतन्त्रको नाममा देश लुटेको टुलुटुलु हेरेर बस्नु पर्ने भयो कि त सन्तानको भविश्यका लागि भए पनि विराधी शक्तिलाई साथ दिएर भ्रष्ट नेतालाई दण्डित गर्न सडकमा निस्कनु पर्ने भयो । नेपाली जनताले दोस्रो विकल्प रोजे, यो उनीहरूको बाध्यता हो । त्यसैले दुर्गा प्रसाईलाई व्यङ्ग्य गर्नुको कुनै तुक छैन । आकाशतिर फर्केर थुक्ता छिटा आफ्नै अनुहारमा पर्ने हो ।

दुर्गा प्रसाईहरूलाई रातारात नेता बनाउने कार्य महेश बस्नेतहरूले नै गरेका हुन् र गर्दैछन् पनि । हुन त महेश बस्नेतहरूले केन्द्रीय कमिटीमा राखेर हिजोकै दिनमा उनलाई नेता बनाएका हुन् । पार्टीबाट बाहिरिएपछि मात्र उनी आँखाका कसिँगर बनेका हुन् । त्यसैले पनि सिङ्गो पार्टी लागेर बोलाएका कार्यकर्ताको भेलाभन्दा एक्ला दुर्गा प्रसाईले बोलाएका भेलामा जनताको उपस्थिति कहाँ हो कहाँ विशाल हुनपुग्योे । प्रसाईले बस्नेत र ओलीहरूलाई आफ्नो औकात देखाइदिए ।

सेना र प्रहरीको घेराबन्दीमा राख्तै कुनै नेता वा व्यवस्था सुरक्षित हुन सक्तैन । नेता वा व्यवस्था सुरक्षित हुन आम जनताद्वारा घेराबन्दी हुन जरुरी छ । जनतालाई चिड्याएर, होच्याएर, अपमान गरेर न कुनै व्यवस्था टिक्न सक्छ, न नेता नै । नेताको जरा आम जनताको मन–मुटुसम्म पुगेन भने नेताहरू कसरी उखेलिन्छन् र फ्याकिन्छन् भनेर श्रीलङ्कन जनताले आफ्नै नेतालाई डाँडो कटाएको दृष्टान्त साक्षी छ । टुक्का र व्यङ्ग्यले व्यक्तिलाई आत्मरति त देला तर जनताको मनबाट भने उसको छवि क्रमश झर्दै र धूमिल हुँदै जानेछ । छल–कपट, भ्रम र बेइमानीको आयु लामो हुँदैन ।।

सम्बन्धित समाचार